नयाँ दिल्ली (एजेन्सी)- बलिउड यस्तो ठाउँ हो, जहाँ जति चमकधमक छाएको देखिन्छ, त्यसको पछाडि त्यति नै अँध्यारो हुन्छ। यस्तो अवस्था आजको समयमा सुरु भएको होइन, दशकौंदेखि कायम छ। यो अनुभव हो, बलिउडकी एक सुपरिचित अभिनेत्रीको।
'नया दौर', 'धूल का फूल' र 'एक ही रास्ता' जस्ता फिल्ममा अभिनय गरेर प्रसिद्ध बालकलाकारको चिनारी बनाएकी डेजी इरानीले ६५ वर्ष नाघेपछिको उमेरमा आफूसँग जोडिएका फिल्म उद्योगका अँध्यारो पाटो खुलाएकी छन्। आफ्नो समयका लगभग सबैजसो सुपरस्टारसँग स्क्रिन सेयर गरेकी इरानीले आफूले भोगेका केही पुराना दर्दनाक व्यथाबारे एक अन्तर्वार्ताका क्रममा खुलासा गरेकी हुन्।
६ वर्षको उमेरमा भएको थियो बलात्कार
भारतको एक पत्रिका 'मिड डे' सँग कुराकानीका क्रममा डेजी इरानीले आफूमाथि करिब ६ वर्षको उमेरमा बलात्कार भएको बताएकी छन्।
उनले भनिन्, 'त्यो व्यक्ति भन्नलाई त मेरो अंकल र संरक्षक थियो। उसले मलाई फिल्म 'हम पन्छी एक डाल के' को सुटिङको लागि आफूसँग मद्रास (अहिले चेन्नई)लगेको थियो। त्यसै क्रममा एक रात होटलको कोठामा उसले मसँग त्यस्तो कुकर्म गर्यो। उसले मलाई मेरो बेल्टले पिट्यो पनि। उसले मलाई यदि कसैलाई यो घटनाबारे बताएमा ज्यान लिने धम्की दिएको थियो। त्यही डरले मैले कहिल्यै कसैलाई त्यसबारे बताइनँ।'
फिल्म 'नया दौर'मा बालकलाकारका रुपमा डेजी
उनले अगाडि भनेकी छन्, 'त्यो मानिस आज मरिसकेको छ। उसको नाम नजीर भन्ने थियो, प्रख्यात गायिका जोहरा बाई अम्बालावालीसँग उसको सम्बन्ध थियो। जसबाट फिल्म उद्योगमा उसको राम्रो सम्बन्ध थियो भनेर अनुमान लगाउन सकिन्छ। मेरी आमा मलाई कुनै पनि हालतमा स्टार बनाउन चाहनुहुन्थ्यो। मैले मराठी फिल्म 'बेबी' बाट अभिनयमा डेब्यु गरेकी थिएँ। यसैले नजीर अंकलले मलाई आफूसँग मद्रास लैजानुभएको थियो। मुझे स्पस्टरुपमा त याद छैन, तर केही क्षण याद आउँछन्। एउटा कुरा मैले अहिलेसम्म बिर्सिन सकेकी छैन, त्यो हो उसले बेल्टले पिट्दाको ज्यानै लिने जस्तो पीडा र उसको अनुहार।'
कास्टिङ काउचको सिकार
डेजीले आफूसँग भएको शारीरिक हिंसासँगै फिल्म उद्योगमा हुने कास्टिङ काउचबारे पनि खुलेर बताएकी छन्।
उनले भनिन्, 'म १५ वर्षको हुँदाको कुरा हो, मेरी आमाले मलाई सारी लगाउन भन्नुभयो र फिल्म निर्माता मल्लिकचन्द कोचरको अफिसमा उनीसँग एक्लै छाडिदिनुभयो। कोचर त्यसबेला एउटा फिल्म बनाउने तयारीमा थिए। उनको अफिस मराठा मन्दिरसँगै जोडिएको थियो। उनी मसँगै सोफामा आएर बसे, र मेरो शरीर छुन थाले। मलाई थाहा थियो, उनी के चाहन्थे र उनको दिमागमा के कुरा चलिरहेको थियो।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।