भैरहवा– मोटरसाइकलको साइलेन्सर तथा स्वरुप परिवर्तन गरी चलाउने तथा २० वर्ष पुराना सवारी साधन चलाउनेमाथि ट्राफिक प्रहरीले कारबाही थालेको छ। प्रहरीले मोटरसाइकलको साइसेन्सर तथा स्वरुप परिवर्तन गरी ध्वनी प्रदुषण गराउने २ सय बढी मोटरसाइकललाई नियन्त्रणमा लिएको छ।
कारबाही थालेको १ महिनाभित्रमा पश्चिम नेपाल ट्राफिक कार्यालय बुटवल र जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीले २ सय बढी मोटरसाइकल नियन्त्रणमा लिएको जिल्ला ट्राफिक प्रहरी रुपन्देहीका प्रमुख दक्षकुमार बस्नेतले जानकारी दिए।
प्रहरीले नियन्त्रणमा लिएका मोटरसाइकलका चालकलाई कम्पनीको साईलेन्सर ल्याएर हाल्न लगाउने र साइलेन्सर परिवर्तन गरे बापत जरिवानास्वरुप १ हजार रुपैयाँ राजश्व कटाएर मात्रै छाड्ने गरेको छ। मोटरसाइकलको स्वरुप परिवर्तन गर्नेबाट मात्रै २ लाख रुपैयाँ बढी राजश्व संकलन गरेको प्रहरीले जनाएको छ। मोटरसाइकलको साईलेन्सर परिवर्तन गराउनेमा धेरै बुलेट र पल्सर मोटरसाइकल रहेको र त्यसमध्ये १८ वटा भारतीय नागरिकको रहेको प्रहरी प्रमुख बस्नेतले जानकारी दिए।
यातायात व्यवस्था कार्यालयले गर्नुपर्ने काम भएपनि जनगुनासो अत्याधिक बढेपछि ट्राफिक र जनपथ प्रहरीले कारबाही थालेको उनले जानकारी दिए। उनले आवाज ठुलो बनाउनका लागि परिर्वतन गरिने साइलेन्सर जडित मोटरसाइकलका कारण दुर्घटना तथा ध्वनी प्रदुषण अत्याधिक बढेका कारण कारबाही थालिएको दाबी गरे।
२० वर्ष पुराना गाडी समात्दै प्रहरी
जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीले २० वर्ष पुराना ५ वटा ट्रकलाई नियन्त्रणमा लिएको छ। चैत १ गतेदेखि १४ वटै अञ्चल यातायात व्यवस्था कार्यालयलाई अनुगमन गरी २० वर्ष पुराना सवारी साधन सञ्चालनमा रोक लगाउन सरकारले दिएको निर्देशन अनुसार रुपन्देहीमा ५ वटा ट्रकलाई नियन्त्रणमा लिइएको हो।
अधिक प्रदूषण र सवारी दुर्घटना बढेको भन्दै सरकारले सवारी तथा यातायात व्यवस्था नियमावली संशोधन गरी चैत १ गतेदेखि देशभरका सडकमा २० वर्ष पुराना सार्वजनिक सवारी गुड्न रोक लगाएको थियो। सरकारले लगाएको रोकलाई अटेर गर्दै चलाएको भन्दै प्रहरीले ट्रकसहित चालकको लाइसेन्स, रुट–परमिट, जाँचपास, ब्लुबुक जफत गरेर यातायात व्यवस्था कार्यालय पठाएको प्रहरी निरिक्षक बस्नेतले जानकारी दिए।
विभागले फागुन मसान्तसम्म २० वर्ष पुराना सवारी पत्रु(कवाडी)का लागि निवेदन दिन व्यवसायीलाई सूचीत गरेको थियो। त्यस अवधिमा १ सय २७ सवारी पत्रु गर्न १४ अञ्चल कार्यालयमार्फत यातायात व्यवस्था विभागमा निवेदन प्राप्त भएको विभागका महानिर्देशक रुपनारायण भट्टराईले जानकारी दिए।
देशभर २० वर्ष पुराना सवारीको संख्या १६ हजार ९ सय ६१ रहेको विभागले जनाएको छ। सरकारले हरियो प्लेट, मिटर ट्याक्सी र अन्य सार्वजनिक यातायातका सवारीलाई २० वर्षे नियम लगाएको हो।
सिद्धार्थ यातायात व्यवसायी समितिका वरिष्ठ उपाध्यक्ष सुनिलराज विष्टले सरकारले गर्ने निर्णय सबैका लागि हुनुपर्ने बताए। उनले प्रदुषण र दुर्घटना सार्वजनिक, हरियो प्लेट र ट्याक्सीले मात्रै नगरी सरकारी र निजी नम्बर प्लेट भएका २० वर्ष पुराना गाडीले पनि गर्ने हुदाँ यो नियम सबै सवारीमा समान रुपले लागु हुनुपर्नेमा जोड दिए।
उनले पुराना सरकारी र निजी सवारी साधन नहटाउँदासम्म प्रदुषण र दुर्घटना न्युन नहुने जिकिर गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।