काठमाडौं– नेपाल विद्यार्थी संघले शिक्षा ऐनको नवौं संशोधन तत्काल खारेज गर्न माग गरेको छ। बुधबार राजधानीमा एक कार्यक्रम गरि संघले यस्तो माग गरेको हो।
कार्यक्रममा संघका महामन्त्री कुन्दनराज काफ्लेले नवौं संशोधन खारेज नगरिए कडा आन्दोलनमा उत्रने चेतावनी दिए।
‘नवौँ संसोधनमा व्यवस्था गरिएको ७५ प्रतिशत आन्तरीक विज्ञापनबाट पदपुर्ती गर्दा न्युनतम अंक प्राप्त गरि स्थाइ हुने जनशक्तिले समग्र राष्ट्रिय सिकाइ घटाउने साथै समग्र राष्ट्रको शैक्षिक भविष्य धरापमा पर्ने देखिन्छ,’ महामन्त्री काफ्लेले भने।
उनले अस्थायी शिक्षकको आगामि चैत्र २३ गते हुन गइरहेको आन्तरिक स्थाइ परिक्षा तुरुन्त खारेज गर्नुपर्ने माग गरे। शत प्रतिशत खुला विज्ञापनको माध्यमबाट स्थाइको प्रकृया अगाडि बढाउनुपर्नेमा उनले जोड दिए। काफ्लेले यथासक्य प्रादेशिक शैक्षिक प्रणालीको विकास गरि संघीय शैक्षिक प्रणालीको निति निर्माण तथा कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।
कार्यक्रममा त्रिभुवन विश्वविद्यालय नेविसंघका अध्यक्ष हरि आचार्यले गुणस्तरिय शिक्षण गर्न आवश्यक दक्ष जनशक्ति न्युन रहेको दावी गरे। पछिल्लो संशोधनले दक्ष जनशक्ति उत्पादनमा सहयोग नपुग्ने उनकाे ठहर छ। ‘दक्ष जनशक्ति बिना व्यवहारिक शिक्षा, गुणस्तरीय सिकाइ उपलब्धि, रोजगारीका अवसर, सिर्जना गर्न सक्दैनन् जसले गर्दा नेपालको शैक्षिक भविष्यलाइ झन कमजोर बनाउदै लग्नेछ। राज्यले गरेको शैक्षिक लगानीको आधारमा उपलब्धि भने न्यून हूँदै गएको अवस्था छ।’, आचार्यले भने।
कार्यक्रममा शिक्षाविद् विद्यानाथ कोइरालाले पनि नवौं संशोधनको खारेजीको माग गरे।
गत असोज ३ मा संसदबाट शिक्षा ऐन २०२८ को नवौँ संशोधन पारित भएको थियो। सो संशोधनको चौतर्फी आलोचना भईरहँदा शिक्षक सेवा आयेगले भने उक्त ऐन कार्यान्वयन गर्दै अस्थायी शिक्षकको आन्तरिक परीक्षा चैत्र २३ मा तोकेको छ।
यसअघि गत कार्तिक २१ मा आयोगले आन्तरिक विज्ञापन खुला गरेको थियो। तर विद्यार्थीहरुको लगातारको विरोधपछि मंसिर ३ गते नयाँ सरकार नबन्दासम्म स्थगीत गर्ने निर्णयमा आयोग पुगेको थियो।
हाल संशोधनको विरुद्धमा सर्वोच्चमा परेको मुद्दा विचाराधिन छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।