अबुजा– नाइजेरियामा आतंककारी समूह बोको हरामले अपहरण गरेका छात्रामध्ये ७६ जनालाई विना शर्त मुक्त गरेको एक मन्त्रीले बिहीबार स्पष्ट पारेका छन्।
उनीहरु के–कसरी मुक्त भए भन्ने बारेमा भएको व्यापक खोजीपछि यहाँका सूचना तथा संस्कृति मन्त्री अल्हाजी मोहम्मदले बिहीबार सो जानकारी दिएका हुन्।
गत महिना बोको हरामको अपहरणमा परेका १ सय १० छात्रामध्ये ७६ जना बुधबार मुक्त भएका हुन्। नाइजेरियाली उत्तरी सहर दाप्चीबाट अपहरणमा परेका उनीहरुलाई बुधबार सोही नगरमा ल्याएर छाडिएको थियो।
सूचना तथा संस्कृति मन्त्री मोहम्मदले अपहरित छात्राहरूको रिहाइका लागि सरकारले केही व्यक्तिको सहयोग लिएको तर उनीहरुको सहयोगमा विना शर्त मुक्त गरिएको जानकारी दिए।
उनीहरुलाई बोको हरामले नै पहिलेको स्थानमा ल्याएर छोडिदिएको भनी समाचार प्रकाशित भएपछि यस विषयमा व्यापक मात्रामा चासो बढेको थियो।
सरकारकै प्रतिनिधिहरुले पनि उनीहरुलाई कुन शर्तमा बोको हरामले मुक्त गरी घरैमा ल्याइदिएका हुन् भनी खोजी गरेको बताइएको छ। यसले गर्दा सरकारले स्पष्टिकरण दिनुपरेको हो।
बुधबार रिहा भएका सबै किशोरी अहिले सुरक्षित तथा आफ्ना घर परिवारसँगै रहेका बताइएको छ। रासस/सिन्ह्वा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।