काठमाडौं– निरन्तर रुपमा ओरालो लागेको नेप्से परिसूचक साताको अन्तिम कारोबारको दिन सम्हालीन खोज्दै अन्ततः १० दशमलव ६३ अंकले घटेर बन्द भएको छ।
कारोबारको सुरुवाती चरणमा घटेको नेप्से परिसूचक साताको बिचमा सकारात्मक बाटोतर्फ अघि बढेको थियो।
पछिल्लो समय नेप्से परिसूचक घटे पनि कारोबार रकममा सुधार आउने क्रम बिहीबार पनि जारी रहेको छ। यसदिन १ सय ५८ कम्पनीको ४३ करोड ८२ लाख ५६ हजार १ सय ३४ रुपैयाँ बराबरको सेयर खरिद–बिक्री भएको छ। जबकी बुधबारको कारोबारमा ३७ करोड ८३ हजार ८७ हजार ११ रुपैयाँ बराबरको सेयर खरिद–बिक्री भएको थियो।
बिहीबार कारोबारमा आएका सबै समूहमा गिरावट आएको छ। बिमा समूह अन्तर्गतका लगानीकर्ताले सर्वाधिक गुमाएका छन्। यो समूहमा १ सय २० दशमलब ७ अंकले घटेको छ। त्यस्तै, होटल समूह ५९ दशमलब ४५ अंकले गिरावट आएको छ भने उत्पादन तथा प्रशोद्यन समूह ३३ दशमलब ०६ अंकले घटेको छ।
पछिल्लो केही दिनदेखि उच्च कारोबार हुँदै आएको नेपाल लाइफ इन्स्योरेन्सको बिहीबार पनि सर्वाधिक कारोबार भएको छ। कम्पनीको ४ करोड ७१ लाख ४८ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ। त्यस्तै, नबिल बैंकको १ करोड ९५ लाख ५७ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ।
बिहीबार सर्वाधिक कमाउनेमा नागबेली लघुवित्त विकास बैंकका लगानीकर्ता रहेका छन्। यो कम्पनीको सेयर मूल्य प्रतिकित्ता १ सय ५८रुपैयाँ अर्थात् ८ प्रतिशतले बढेको छ। त्यस्तै, एभरेष्ट इन्स्योरेन्सको सेयर मूल्य प्रतिकित्ता ८३ रुपैयाँले बढेको छ।
बिहीबार प्रोग्रेसिभ फाइनान्सको सेयर मूल्य ८ रुपैयाँ अर्थात् ५ दशमलब ३३ अंकले घटेको छ। त्यस्तै, नेपाल ग्रामिन विकास बैंकको सेयर मूल्य प्रतिकित्ता २७ रुपैयाँले घटेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।