नयाँ दिल्ली (एजेन्सी)- बलिउड सुपरस्टार आमिर खानको विषयमा हालै एउटा ठूलो खबर आएको छ। खबर अनुसार अहिले सुटिङ जारी रहेको 'ठग्स अफ हिन्दुस्तान' पछि उनले अहिलेसम्मको बलिउड इतिहासकै सबैभन्दा ठूलो फिल्म गर्ने भएका छन्।
बलिउडका व्यापार विश्लेषक रमेश बालाका अनुसार, भारतको महान् ग्रन्थ 'महाभारत' मा आधारित रहेर बन्ने विशाल बजेटको फिल्म सिरिजमा आमिर मुख्य भूमिकामा देखिनेछन्। सो फिल्मका लागि रिलायन्स कम्पनीका मालिक मुकेश अम्बानी सह-निर्माता हुनेछन्। महाभारत सिरिजका लागि एक हजार करोड भारुभन्दा बढी बजेट खर्च हुने बताइएको छ।
विश्लेषक बालाले महाभारतको यो सिरिज हलिउडको 'लर्ड्स अफ द रिंग्स' र 'गेम्स अफ थ्रोन्स' को सिरिज जस्तै गरी निर्माण गरिने पनि उल्लेख गरेका छन्। यसबारे अहिलेसम्म आमिर र व्यवसायी अम्बानीका तर्फबाट भने आधिकारिक पुष्टि गरिएको छैन।
भारतीय सञ्चारमाध्यममा आएका खबर अनुसार 'सिक्रेट सुपरस्टार' को प्रमोसनको क्रममा आमिरले भनेका थिए, 'महाभारत जस्तो ठूलो प्रोजेक्टमा काम गर्ने मेरो सपना छ। तर, यसका लागि मैले आफ्नो करिअरको कम्तीमा पनि १५/२० वर्ष खर्चनुपर्छ।'
आमिरले त्यस क्रममा महाभारतमा आफ्नो मनपर्ने भूमिका कर्णको रहेको उल्लेख गर्दै भनेका थिए, 'तर, मलाई थाहा छैन, यो चरित्र गर्न म योग्य छु कि छैन।'
यद्यपि 'महाभारत' सिरिज निर्माणबारे कुनै आधिकारिक सूचना भेटिएको छैन। यद्यपि आमिरका प्रशंसकहरु यो खबर सुनेपछि निकै उत्साहित भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।