काठमाडौं– सुन व्यवसायी र सुन पसलेको हत्या घटनाको थप अनुसन्धानका लागि प्रहरी प्रधान कार्यालयले डिआइजीको नेतृत्वका छानबिन समिति गठन गरेको छ। घटनाको अनुसन्धानमा प्रहरीले चलखेल गरेको उजुरीका आधारमा प्रहरी मुख्यालयले छानबिन सुरु भएको हो।
मुख्यालयले डिआइजी पुष्कलराज रेग्मीको नेतृत्वमा छानबिन समिति गठन गरेको छ। फागुनको दोस्रो साता मोरङका सनम शाक्यको हत्या भएको थियो। तस्करीको ३३ किलो सुन लुकाएको भन्दै तस्करीमा संलग्न गिरोहले करेन्ट लगाएर उनलाई हत्या गरेको थियो।
शव जंगलमा लुकाउन लैजान लागेको अवस्थामा प्रहरीले फागुन १८ मा गाडीबाटै मोरङको पोखरियामा शव बरामद गरेको थियो। प्रहरीले घटनामा संलग्न टेकराज मल्ल, नरेन्द्र कार्की र मोहन काफ्लेलाई पक्राउ गरेको थियो। तस्करीमा संलग्न समूहले उनीहरुमाथि पनि कुटपिट गरी शव लुकाउने जिम्मेवारी दिएका थिए।
प्रहरीले घटनाका मुख्य नाइकेलाई जोगाएर आफूलाई फसाएको भन्दै उनीहरुले उजुरी गरेपछि मुख्यालयले छानबिन थालेको हो। स्रोतका अनुसार अनुसन्धानमा आबद्ध अपराध महाशाखाका केही प्रहरीले तस्करीका नाइकेलाई जोगाउने भूमिका खेलेका थिए। सो घटनामा संलग्न थप व्यक्ति पक्राउ नगरेपछि प्रहरीको बदनियत बाहिर आएको हो।
त्यस्तै, गत फागुन २० मा विर्तामोडस्थित देवा ज्वेलर्सका सञ्चालक साजन मुखियाको हत्याको थप अनुसन्धान गर्ने जिम्मेवारी समेत डिआइजी रेग्मी नेतृत्वको समितिलाई दिइएको छ। सुन किन्न भनेर बोलाई मुखियाको रिद्धिसिद्धि ज्वेलर्सका सञ्चालक पारसरकुमार देव लगायतले हत्या गरेका थिए।
दुवै घटना अन्तरसम्बन्धित भएको र प्रहरीले गम्भीर अनुसन्धान नगरेको उजुरीपछि मुख्यालयले छानबिन अघि बढाएको हो। अनुसन्धान समितिले बिहीबारदेखि घटनास्थलमै पुगेर छानबिन थालेको छ।
ठूला घटनामा माथिल्ला निकायबाट थप छानबिन गर्ने चलनअनुसार डिआइजीको नेतृत्वमा घटनाको अनुसन्धान थालिएकोे प्रहरी प्रवक्ता डिआइजी मनोज नेउपानेले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।