कञ्चनपुर- घर आँगन र खेतबारीमा सहजै देखिने भँगेरा हाल देखिन छाडेका छन्। घरको भित्ताको प्वाल, घरको छानामा गुँड लगाउने भँगेरा कम भएकोमा सरोकारवालाहरुले चिन्त व्यक्त गरेका छन्।
जलवायु परिवर्तनले बढ्दै गएको तापक्रमका कारण भँगेरा कञ्चनपुर लगायतका क्षेत्रबाट लोप हुने संघारमा पुगेका छन्। बढ्दो गर्मीसँगै छाना बढी तात्ने भएकाले भँगेराले गुँडमा राखेको अण्डा बिग्रिने र भँगेराले तापक्रम सहन गर्न नसकी मर्ने गरेका छन्।
हुलका हुल देखिने भँगेरा हाल कम मात्रै देखिने गरेको स्थानीयवासीको भनाइ छ। कञ्चनपुरलगायत तराईका जिल्लामा केही वर्षदेखि तापक्रम ४० देखि ५५ डिग्रिसेल्सियससम्म पुग्ने गरेको छ।
'परम्परागत घरमा भँगेरालाई गुँड लगाउन र बस्नका लागि पर्याप्त ठाउँ हुन्थ्यो,' वातावरणका जानकार बहादुर सिंह महराले भने, 'हाल बन्ने आधुनिक पक्की घरमा भँगेराले गुँड लगाउने र बस्ने ठाउँ नहुँदा छाडेका हुन्।'
बढ्दो ध्वनि, धुवाँ र माटो प्रदूषणका कारणसमेत भँगेराका प्रजाति लोप हुने अवस्थामा पुगेको उनले बताए। भँगेराले आहाराका रुपमा रुचाउने किराफट्यांग्रा र खेतमा छरेको अन्न नै हो। खेतबारीमा रासायनिक मल र विषादीको अन्धाधुन्ध प्रयोग गर्ने क्रम बढेपछि भँगेराको प्रजातिसमेत त्यसको चपेटामा परेको छ।
भँगेराले खेतबारीमा विषादीका कारण मरेका किराफट्यांग्रा र छरेको अन्न खाँदा मर्ने गरेका छन्। 'गाउँ सहर भएर बग्ने नदीमा उद्योगबाट निस्कने रसायन मिसाइएको पानी र ढलको पानी मिसाउने गरिएकाले पानी प्रदूषित हुने गरेको छ। जुन पानी भँगेराले समेत प्रयोग गर्ने भएकाले यसबाट भँगेरा मर्ने गरेका छन्,' टेकबहादुर हमालले भने।
एक अध्ययनअनुसार बजार क्षेत्रमा लगाइने स्ट्रिट लाइटका कारण भँगेराले रात दिन पहिचान गर्न नसक्ने र मोबाइल टावरबाट निष्कने रेडियसनका कारण बाटो पहिचान गर्न नसक्ने भएकाले पनि यसको संख्यामा कमी आएको छ।
भँगेरा करिब १३ वर्षसम्म भँगेरा बाच्ने गर्दछ।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।