अकल्यान्ड– न्युजिल्यान्ड विरुद्धको पहिले टेस्टको पहिलो इनिङमा इंग्ल्यान्ड ५८ रनमै अलआउट भएको छ। टस हारेर पहिले ब्याटिङ गरेको भ्रमणकारी टिम इंग्ल्यान्ड २०.४ ओभरमा अलआउट भएको हो। अकल्यान्डको इडिन पार्कमा भएको खेलमा १ घन्टा ३५ मिनेट भित्रमा सबै खेलाडी पेभिलियन फर्केका थिए।
कुनै समय २७–९ को स्थितिमा रहेको इंग्ल्यान्डका लागि क्राइग ओभरर्टनले नटआउट ३३ रन जोडेका थिए। क्राइगको रनसँगै इंग्ल्यान्ड अहिलेसम्मै कम स्कोरमा समेटिनबाट जोगियो। यो स्कोर इंग्ल्यान्डको छैटौं कम टेस्ट स्कोर हो।
इंग्ल्यान्डको इनिङ ध्वस्त पार्ने क्रममा न्युजिल्यान्डका ट्रेन्ट बाउन्टले ६ विकेट लिए भने टिम साउथीले ४ विकेट हात पारे। बाउन्टले १०.४ ओभरमा ३ मेडन दिँदा ३२ रन खर्चिए भने साउथीले १० ओभरमा ३ मेडन राख्दा २५ रन दिए। पहिलो इनिङमा २ बलरले मात्र बलिङ गरे।
खेलमा इंग्ल्यान्डका पाँच ब्याट्सम्यान डकआउट भएका थिए।
इंग्यान्डको टेस्टमा कम स्कोर
४५ रन – अस्ट्रेलिया – १८८७
४६ रन– वेस्ट इन्डिज– १९९४
५१ रन – वेस्ट इन्डिज – २००९
५२ रन– अस्ट्रेलिया– १९४८
५३ रन– अस्ट्रेलिया– १८८८
५८ रन– न्युजिल्यान्ड –२०१८
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।