काठमाडौं– वेस्ट इन्डिज आइसिसी एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिता २०१९ का लागि छनोट भएको छ। जिम्बावेमा भइरहेको छनोट प्रतियोगिताको महत्वपूर्ण खेलमा स्कटल्यान्डलाई डिएल मेथडमा ५ रनले पराजित गर्दै वेस्ट इन्डिजले विश्वकपमा स्थान पक्का गरेको हो।
वेस्ट इन्डिजले दिएको १ सय ९९ रनको लक्ष्य पछ्याएको स्कटल्यान्डले ३५.२ ओभरमा ५ विकेटको क्षतिमा १ सय २५ रन बनाएर खेलिरहदा खेल वर्षाले अवरुद्ध बनेको थियो। जितका लागि ७४ रनले टाढा रहेको स्टकल्यान्डका वर्षा नरोकिनु दुर्भाग्य सावित भयो।
त्यसअघि वेस्ट इन्डिज ४८.४ ओभरमा १ सय ९८ रनको सामान्य योगफलमा समेटिएको थियो। वेस्ट इन्डिजका लागि इभिन लेविसले ६६ रन र मार्लोन स्यामुयल्सले ५१ रन जोडेका थिए। बलिङतर्फ स्कटल्यान्डका सफयान साइफ र ब्राड ह्विलले ३–३ विकेट लिएका थिए।
योसँगै वेस्ट इन्डिज र स्कटल्यान्डको सुपर ६ खेल सकिएको छ। शीर्ष स्थानको वेस्ट इन्डिजले ५ खेलबाट ८ अंक जोडेको छ। दोस्रो स्थानको जिम्बावेको ४ खेलबाट ५ अंक छ। ५ खेलबाट ५ अंक नै बटुलेको स्कटल्यान्ड तेस्रो स्थानमा छ। चौथो स्थानको आयरल्यान्ड र पाँचौ स्थानको अफगानिस्तानको समान ४–४ अंक छ।
अब बिहीबार जिम्बावे र युएई तथा शुक्रबार आयरल्यान्ड र अफगानिस्तानबीच प्रतिस्पर्धा हुनेछ। बिहीबार जिम्बावेले जित हात पारे विश्वकपमा छनोट हुनेछ भने आयरल्यान्ड र अफगानिस्तान अन्तिम खेल अघि बाहिरिनेछन्। जिम्बावे पराजित भए मात्र अफगानिस्तान र आयरल्यान्डको सम्भावना रहनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।