नयाँ दिल्ली (एजेन्सी)- एक समय सलमान खानसँग फिल्ममा काम गरिसकेकी अभिनेत्री पूजा डडवाल पछिल्लो १५ दिनयता अस्पतालमा भर्ना भएर रोगसँग संघर्ष गरिरहेकी छन्। क्षयरोग र फोक्सोसम्बन्धी रोगबाट पीडित उनले उपचार खर्चको अभाव भएपछि सहयोगको अपिल गर्दै सलमानबाट पनि केही पाउने अपेक्षा रहेको बताएकी थिइन्। यसैबीच उनले आर्थिक सहयोग पाएकी छन्, तर यो सहयोग सलमानले नभई अर्कै अभिनेताले उपलब्ध गराएका हुन्।
भोजपुरी फिल्मका सुपरस्टार रवि किशनले पूजालाई सहयोग गरेका हुन्। हैदराबादमा फिल्म 'एमएलए' को प्रमोसनमा व्यस्त रवि किशनले आफ्ना एक सहयोगी पप्पु यादवलाई नगद र फलफूल दिएर अस्पताल पठाएका छन्। पप्पुले सहयोगको रकम कति भन्ने खुलाउन अस्वीकार गर्दै रवि किशनले देखावटीदेखि पर रहेर यस्तो सहयोग प्राय: गर्ने गरेको बताए।
पप्पुको फेसबुक एकाउन्टमा राखिएको भिडियोमा पूजा अस्पतालको जनरल वार्डमा रहेको देखिएको छ।
पूजाले हालै एक भिडियो मार्फत आर्थिक सहयोगको आग्रह गरेकी थिइन्।
रवि किशनले कुनै समयमा निर्देशक विनय लाडको फिल्ममा पूजासँग काम गरेको बताएका छन्।
पूजाले सलमानसँग फिल्म 'वीरगति (१९९५)' मा अभिनय गरेकी थिइन्। आर्थिक स्थिति कमजोर रहेकी उनी १५ दिनदेखि मुम्बबईको शिवडी टिबी अस्पतालमा उपचाररत छिन्।
भारतीय सञ्चार माध्यमहरुले जनाए अनुसार स्वास्थ्य समस्याकै कारण पूजालाई पति र परिवारले छाडेका छन्। उनले 'वीरगति' का साथै 'हिन्दुस्तान (२००४)' र 'सिन्दूर की सौगन्ध (२००२)' मा पनि अभिनय गरेकी थिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।