काठमाडौं– २०७२ वैशाख १२ को भूकम्पपछि तहसनहस बनेको अपार्टमेन्ट व्यवसाय अझै तंग्रिन सकेको छैन। भूकम्पपछिको ३ वर्षमा जम्मा २ वटा अपार्टमेन्टले मात्र निमार्णका लागि अनुमति माग गरेको सहरी विकास तथा भवन निमार्ण विभाग डिभिजन कार्यालयले जनाएको छ।
प्रिमियर र नन्दनन्दन अपार्टमेन्टले सञ्चालन अनुमतिका लागि आवेदन दिएको कार्यालयका सिनियर इन्जिनियर तथा सूचना अधिकारी लीला खतिवडाले बताए। उनले प्रिमियर अपार्टमेन्ट सञ्चालन अनुमतिका लागि अन्तिम तयारीमा रहेको जानकारी दिए।
भने, ‘प्रिमियर अपार्टमेन्टले आवश्यक प्रक्रिया पूरा गरेकाले अनुमतिको अन्तिम चरणमा छ । नन्दनन्दन अपार्टमेन्टले प्रक्रिया पुर्याएको छैन।’ प्रक्रिया पुगेसँगै दुवै अपार्टमेन्टलाई सञ्चालन अनुमति दिइने उनले बताए।
प्रिमियर अपार्टमेन्ट सिई रियलस्टेट अन्तर्गत सञ्चालनमा आउन लागेको हो भने नन्दनन्दन अपार्टमेन्ट नन्दनन्दन डेभलपर्स अन्तर्गत सञ्चालनमा आउने तयारीमा छ।
भूकम्पका कारण ५१ वटा अपार्टमेन्टमा क्षति पुगेपछि आम मानिसमा नकारात्मक प्रभाव परेको खतिवडाले बताए। ‘नेपाली समाजमा विस्तारै अपार्टमेन्ट किनेर बस्ने प्रचलन सुरु भएकै बेला भूकम्पले अपार्टमेन्टमा क्षति पुर्यायो,’ उनले भने, ‘त्यसले खरिद गर्नेको संख्यामा गिरावट आएसँगै अनुमतिका लागि निवेदन पनि कम परेको हो।
२५ वटा अपार्टमेन्ट बस्न योग्य, ३ वटा सम्पर्कमै आएनन्
भूकम्पले क्षति पुर्याएका ५१ मध्ये २५ वटा अपार्टमेन्टमा मात्र बस्न योग्य रहेको सहरी विकास तथा भवन निमार्ण विभाग डिभिजन कार्यालयले जनाएको छ। भूकम्पको क्षतिपछि आवश्यक प्रक्रिया पुर्याएर मर्मत गरेपछि यी अपार्टमेन्ट बस्न योग्य भएको सूचना अधिकारी खतिवडा बताउँछन्। उनले २६ वटा अपार्टमेन्ट मर्मत प्रक्रियामा रहेको जानकारी दिए। जसमध्ये १३ वटा अपार्टमेन्ट आवश्यक पक्रिया पूरा गरी बस्नका लागि योग्य अवस्थामा पुगेका छन्। १३ वटा अपार्टमेन्ट मर्मतको प्रक्रियामा रहे पनि उनीहरुले कार्यालयमा विवरण बुझाएका छैनन्।
यता, भूकम्पले क्षति पुर्याका तीन अपार्टमेन्ट ३ वर्ष बितिसक्दा पनि सम्पर्कमा नआएको खतिवडाले जानकारी दिए। टेकुस्थित सिग्नेचर–१ तथा सिग्नेचर–२ र शंखमूल स्थित वाग्मती अपार्टमेन्ट मर्मतका सम्बन्धमा हालसम्म सम्पर्कमा अएका छैनन्।
२०६४ सालदेखि आकर्षणको केन्द्र बनेको अपार्टमेन्ट व्यवसाय २०७२ सालको भूकम्पपछि सुस्ताएको हो। २०६१ सालमा एउटा अपार्टमेन्टले निर्माण स्वीकृति लिएकोमा त्यस्तो संख्या २०७१ सालको अन्त्यसम्म आइपुग्दा ७१ पुगेको थियो।
२०६४ मा ७, २०६५ मा २३, २०६६ मा १२, २०६७ मा ७ र २०६८ मा ८ वटा अपार्टमेन्ट दर्ता भएका थिए।
त्यस्तै, २०६९ र २०७० मा भने ४/४ वटा अपार्टमेन्ट निर्माणका लागि अनुमति माग्न कार्यालयमा निवेदन लिएर पुगेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।