काठमाडौं- निरन्तर रुपमा ओरालो लागेको नेप्से परिसूचक बुधबारको कारोबारमा पनि थामिएन। यस दिन परिसूचक २४ दशमलव ४० अंकले घटेर १ हजार २ सय ३१ दशमलव शून्य ७ अंकमा आइपुगेको छ।
पछिल्ला दुई दिन परिसूचक घटे पनि कारोबार रकममा सुधार आउँदा लगानीकर्तालाई केही हदसम्म आसा जगाएको सेयर जानकारहरु बताउँछन्।
बुधबार १ सय ५१ कम्पनीको ३७ करोड ८३ हजार ८७ हजार ११ रुपैयाँ बराबरको सेयर खरिद-बिक्री भएको छ। जबकी मंगलबारको कारोबारमा ३२ करोड ८९ लाख रुपैयाँ बराबरको सेयर खरिद-बिक्री भएका थिए।
बुधबार कारोबारमा अएको उत्पादन तथा प्रशोधन समूहमा उच्च अंकले वृद्धि भएको छ। यस समूहको सेयर मूल्य ५८ दशमलब ४८ अंकले बढेको छ।
यता बिमा समूह अन्तर्गतका लगानीकर्ताले सर्वाधिक गुमाएका छन्। यो समूहमा १ सय ८६ दशमलब ६९ अंकले गिरावट आएको छ। त्यस्तै, लघुवित्त समूहमा ४८ दशमलब ५२ अंकले गिरावट आएको छ भने होटल समूह २३ दशमलब ३१ अंकले घटेको छ।
पछिल्लो केही दिनदेखि उच्च कारोबार हुँदै आएको नेपाल लाइफ इन्स्योरेन्सको बुधबार पनि सर्वाधिक कारोबार भएको छ। कम्पनीको ३ करोड ४६ लाख ७६ हजार रुपैयाँ बराबरको सेयर खरिद-बिक्री भएको छ। त्यस्तै, नेपाल बैंकको २ करोड ६ लाख ६७ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ।
बुधबार सर्वाधिक कमाउनेमा युनिलिभर अन्तर्गतका लगानीकर्ता रहेका छन्। यो कम्पनीको सेयर मूल्य प्रतिकित्ता १ हजार ५ सय १० रुपैयाँले बढेको छ। त्यस्तै, गुडविल फाइनान्स लिमिटेडको सेयर मूल्य ४ रुपैयाँले बढेको छ।
बुधबार प्रोग्रेसिभ फाइनान्सको सेयर मूल्य १५ रुपैयाँ अर्थात् ९ दशमलब शून्य ९ अंकले घटेको छ। त्यस्तै, महिला सहयात्रा माइक्रोफाइनान्स वित्तीय संस्थाको सेयर मूल्य प्रतिकित्ता ३१ रुपैयाँले घटेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।