नयाँ दिल्ली (एजेन्सी)– बलिउड अभिनेत्री रानी मुखर्जी आजबाट ४० मा टेकेकी छन्। २१ मार्च १९७८ मा मुम्बईमा जन्मिएकी रानीको पारिवारिक पृष्ठभूमि फिल्म क्षेत्रकै छ। बुवा राम मुखर्जी फिल्म निर्माता हुन् भने आमा कृष्णा गायिका हुन्।
रानीले १८ वर्षको उमेरमा बंगाली फिल्म ‘बेयर पिया’ बाट डेब्यू गरेकी हुन्। उनको पहिलो बलिउड फिल्म भने ‘राजाकी आएगी बारात’ हो।
'कुछ कुछ होता हे', 'गुलाम', 'हर दिल जो प्यार करेगा', 'साथीया', 'हम तुम', 'बन्टी और बब्ली', 'यूवा', 'ब्ल्याक', कभी अलबिदा ना कहेना', 'सावरिया', 'नायक', 'नो वान किल्ड जेसिका' र 'तलास' उनी अभिनीत हिट फिल्म हुन्।
रानीले 'मोहब्बतें', 'लगान', 'मुन्ना भाई एमबिबिएस', 'भुल भुलैया' र 'हे बेबी' फिल्म अस्वीकार गरेकी थिइन्, जुन सुपरहिट भएका थिए।
उनले 'मेहेन्दी', 'हेल्लो ब्रदर', 'बादल', 'हद कर दी आपने', 'बिच्छु', 'चुपके चुपके', 'चल्ते चल्ते', 'चोरी चोरी', 'कलकत्ता मेल', 'वीर जारा', 'पहेली', 'ता रा रम पम' लगायत फिल्ममा अभिनय गरेकी छन्। उनले बलिउडका ४१ फिल्ममा अभिनय गरेकी छन्।
रानीको बिहे सन् २०१४ मा एस राज फिल्म्सका निर्देशक तथा फिल्म निर्माता आदित्य चोपडासँग भएको हो। उनले पछिल्लो पटक अभिनय गरेको फिल्म 'हिच्की' गत शुक्रबार रिलिज भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।