काठमाडौं- खानेपानी मन्त्री बिना मगरले आगामी असोजभित्रमा मेलम्चीको पानी काठमाडौं ल्याउने प्रतिबद्धता व्यक्त गरेकी छन्।
काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री मगरले आगामी दशैंभित्रमा मेलम्चीको पानी काठमाडौं ल्याउने गरी काम गर्न निर्देशन दिएको बताइन्।
'केही दिनदेखि मेलम्चीको काम रोकिएको रहेछ, मैले त्यहाँको भ्रमण गरेर तत्काल काम अगाडि बढाउन निर्देशन दिएको छु, अब २५ दिनभित्रमा सुन्दरीजल र दशैंसम्ममा काठमाडौंमा मेलम्चीको पानी आउँछ', मन्त्री मगरले भनिन्।
मन्त्रालयले जतिसक्दो चाँडो राजधानी काठमाडौंसँगै तराई–मधेस, पहाडी र हिमाली जिल्लामा समेत सरसफाइ अभियान सञ्चालन गर्दै २०७५ साललाई राष्ट्रिय सरसफाइ वर्षको रुपमा घोषणा गर्ने मन्त्री मगरको भनाइ छ। मन्त्री मगरले आगामी एक/दुई वर्षमा वाग्मती र विष्णुमतीलाई सफा गरी पर्यटकीय क्षेत्र बनाउने पनि बताइन्। (रासस)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।