महेन्द्रनगर- १२ वर्षदेखि साउदीको कारागारमा बन्दी जीवन बिताइरहेका धनुषाका उमेश यादव आफ्नो आमालाई कहिलेकाहीँ फोनमा कुरा गर्दा भन्छन्, 'म छिट्टै घर आउँछु आमा, छिट्टै आउँछु।' यति भनिनसक्दै फोन कट्छ। किनकि १०–१५ सेकेण्डभन्दा बढी कुरा गर्नै पाउँदैनन् उनी।
सउदी अरेबिया अदालतले उमेशको टाउको काटेर २४ घन्टासम्म झुन्ड्याउने आदेश गरिसकेको छ। एक पाकिस्तानी व्यक्तिको हत्या गरेको आरोपमा उनलाई साउदीमा १२ वर्षदेखि बन्दी बनाएर कारागारभित्रै राखिएको छ।
धनुषाको साविक माची झिटकैया–४ तथा हाल कमला नगरपालिका–३ बस्ने आमा कुमारी देवी र बुबा भोला यादवको साइला सन्तान हुन् उमेश। गरिबीबाट मुक्त हुन विदेशिएका उमेशले साउदीको जिलादीन कम्पनीमा ६ महिना काम गरे। त्यसपछि पाकिस्तानी कामदारको हत्या आरोपमा उनी पक्राउ परे।
उमेशका भाइ दिनेश पनि साउदीमै वैदेशिक रोजगारीमा थिए। दाइबाट यस्तो घटना भएपछि उनी त्यहाँबाट भागे तर पछि पक्राउ गरी उनलाई साउदीको जेलमा ६ महिना राखियो।
६ महिनापछि कम्पनीको पहलमा हिरासत मुक्त भएका दिनेश पुनः आफ्नै गाउँ पुगेर खेतीपाती गरेर जीविकोपार्जन गरिरहेका छन्। तर दाजु उमेशको हालत देखेर कहिल्यै विदेश नजाने सोचाइमा छन् उनी।
चार दाजुभाइमा दुई कट्ठा जमिन मात्र थियो। उमेशलाई सजाय र १२ वर्षदेखि घर नफर्केपछि तीन दाजुभाइले बाँडेर उमेशको भागको सबै बेचबिखन गरिसकेको अवस्था छ।
सजाय सुनाइएका उमेशका कमलेश र हितेष दुई छोरा छन्। श्रीमती मन्जुदेवी भने धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगरमा काम गरी सन्तान पालिरहेकी उमेशका बुबा भोला यादव बताउँछन्।
'जेलबाटै साथीको मोबाइलबाट कहिलेकाहीँ फोन गर्छ र बढीमा १०–१५ सेकेण्ड कुरा हुन्छ,' विक्षिप्प बा आमा भन्छन्, 'एउटै कुरा भन्छ म घर आउँछु। मेरा छोरा कता छन्? यति भन्दैमा फोन काटिन्छ। सायद अरुको मोबाइल चोरेर फोन गर्छ होला र जेलका सुरक्षाकर्मीले मोबाइल खोस्छन् त्यही भएर यतिको कम कुरा हुन्छ होला उमेशको।'
साउदीस्थित रहेको नेपाली दूतावासले पहल थालेको बताइए पनि उसको सजाय कटौतीबारे के हुने जनाइएको छैन।
हत्या भएका पाकिस्तानी नागरिकको परिवारले ब्लडमनी रु ७० लाख माग गरेका छन्। त्यो बुझाउन सके र अदालतमा मृतकका परिवारले छोडदिन भनेपछि उमेशलाई आममाफी हुने सम्भावना छ। नेपालबाट सरकारी पहल हुन सके उमेश फर्केर आउने परिवारको आशा गरेका छन्।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।