काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णाली प्रदेशलाई समृद्ध बनाउन कर्णालीकै स्रोत–साधन उपयोग गर्नुपर्ने बताएका छन्।
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतत्वको टोलीसँग आइतबार भएको भेटवार्ताका क्रममा प्रधानमन्त्री ओलीले कर्णाली प्रदेश जति विकट भए पनि सम्भावना अथाह रहेको बताए।
कर्णालीलाई अर्गानिक प्रदेशको रुपमा विकास गर्ने प्रदेश सरकारको निर्णयको प्रधानमन्त्री ओलीले प्रशंसा गरे।
‘कर्णालीका हरेक उत्पादनलाई अर्गानिक बनाएर बजारीकरण गर्नुहोस्’, प्रधानमन्त्री ओलीले भने, ‘त्यहाँका जनावरले जडिबुटी चरेका छन्। तिनीहरुबाट उत्पादन हुने वस्तुको मूल्य अन्यत्रको भन्दा महँगो हुन्छ।’ प्रधानमन्त्री ओलीले कर्णालीको स्याउ र यार्सागुम्बा समृद्धिको स्रोत भएको समेत बताए।
‘विकसित देशको औषधि हालेको नक्कली होइन, कर्णालीमा फलेको अर्गानिक स्याउ हो भनेर अन्तर्राष्ट्रिय बजारमा पुर्याउनुपर्छ’, प्रधानमन्त्री ओलीको भनाइ थियो।
कर्णालीको विकासमा केन्द्र सरकारको सकारात्मक सहयोग रहने समेत प्रधानमन्त्री ओलीले बताए।
‘कर्णालीमा बाटो, पुल बनाउने, प्राविधिक विद्यालय खोल्ने र नयाँ शहर बसाउने जिम्मा केन्द्र सरकारको हो। त्यस बाहेकका काममा तपाईंहरु लाग्नुहोस्’, उनले भने।
कर्णालीको समस्या प्रधानमन्त्रीलाई जानकारी गराउन मुख्यमन्त्री शाही, प्रदेश प्रमुख दुर्गाकेशर खनाल, सभामुख राजबहादुर शाही तथा मन्त्रीहरु समेत सहभागी थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।