भैरहवा– भैरहवास्थित गौतमबुद्ध विमानस्थलमा अवतरणका क्रममा दुर्घटनाबाट जोगिएको यती एयरलाइन्सको विमान धावनमार्गमै रोकिएपछि आज साँझका सम्पूर्ण उडान प्रभावित भएका छन्।
काठमाडौबाट भैरहवाका लागि उडेको यतीको विमान साँझ सवा ५ बजे अवतरणका क्रममा रन–वे मै अड्किएको थियो। काठमाडौंबाट साँझ मात्रै यती, बुद्ध र श्री एयरलाइन्सका एक/एक वटा विमान आउने तालिका थियो। ती तीन वटै विमान रोकिएको विमानस्थल प्रमुख टेकराज पोखरेलले जानकारी दिए।
पोखरेलले धावनमार्गबाट विमान तानेर किनारा लगाउन यती एयरको प्राविधिक टोली काठमाडौंबाट हिँडिसकेको र राति १ बजेसम्म आइपुग्ने उल्लेख गरे। प्राविधिक टोलीले बिहानसम्ममा विमान छेउ लगाएर बिहानका उडान नियमित हुनसक्ने उनले बताए।
२६ यात्रु बोकेर काठमाडौंबाट आएको विमान विमानस्थलमा अवतरणपछि गुडिरहेका बेला एक्कासी चक्का लक हुँदा धावनमार्गमा रोकिएको छ। काठमाडौंबाट ४ बजेर ४० मिनेटमा उडेको जुलेट चार्ली विमान ५ बजेर ११ मिनेटमा भैरहवा विमानस्थलमा अवतरण गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।