ad

कर्मचारी सरुवा-बढुवामा सरकारले हस्तक्षेप गरे कांग्रेस चुप बस्दैन : देउवा

Nepal Live

रत्ननगर, चितवन- नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले कर्मचारीतन्त्रमाथि हस्तक्षेप हुन नहुने बताएका छन्। 

नेपाल निजामती कर्मचारी युनियनको रत्ननगरमा सुरु सातौं महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै देउवाले कांग्रेस स्वतन्त्र कर्मचारी तन्त्रको पक्षमा रहेको बताए। कर्मचारी सरुवा, बढुवामा वर्तमान सरकारले हस्तक्षेप गर्ने सम्भावना बढेको भन्दै सभापति देउवाले त्यसो गरिए कांग्रेस चुप लागेर नबस्ने बताए। 

दुई तिहाईको दम्भ देखाएर सरकारले हस्तक्षेपकारी नीति अवलम्बन गरे कांग्रेसले त्यसको डटेर सामना गर्ने सभापति देउवाको भनाइ छ। उनले लोकतन्त्रको रक्षा, संविधानको कार्यान्वयन र संघीयतालाई संस्थागत गर्ने काममा दत्तचित्त भएर काम गर्न कर्मचारीहरुलाई निर्देशन दिए। 

आफू नेतृत्वको सरकारले संविधान निर्माण, त्यसको कार्यान्वयन र तीन वटै तहको निर्वाचन गराउन सफल भएको भन्दै देउवाले निर्वाचनको परिणामलाई दिएर निरास नहुन कार्यकर्तालाई आग्रह समेत गरे।

कार्यक्रममा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसलाई पुरानै अवस्थामा फर्काउन स्पष्ट एजेण्डासहित कांग्रेस जनताको बीचमा जानुपर्ने बताए। 

नेता पौडेलले ओली नेतृत्वको सरकारले न्यायालय र संविधानलाई नियन्त्रणमा लिन खोजेको आरोप लगाए। उनले कम्युनिस्ट नेतृत्वको सरकारबाट विकास, योजना, सरुवा, बढुवामा पक्षपात हुनसक्ने भन्दै सचेत हुनुपर्ने बताए। 

कार्यक्रममा कांग्रेस महामन्त्री शशांक कोइराला, पूर्व महामन्त्री तथा कांग्रेसका केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्य तथा पूर्व स्वास्थ्यमन्त्री गगन थापा, पूर्वमन्त्री विमलेन्द्र निधि लगायतले मन्तव्य राखेका थिए। 

तीन दिनसम्म चल्ने महाधिवेशनमा ५ सय ७० जना प्रतिनिधि र २ सय जना पर्यवेक्षकको सहभागिता रहेको संघका अध्यक्ष सुबोधकुमार देवकोटाले जानकारी दिए। महाधिवेशनले ८५ सदस्यीय केन्द्रीय कार्यसमिति र सात वटा प्रदेश समिति चयन गर्नेछ। 

तपाईको प्रतिक्रिया

यसमा तपाइको मत


सम्बन्धित समाचार