राजविराज– सप्तरीको बलान बिहुल गाउँपालिकामा तालाबन्दी गरिएको विषयले नयाँ मोड लिएको छ।
गाउँपालिकाको केन्द्र परिवर्तन गर्ने सहमति कार्यान्वयनमा अध्यक्ष दयानन्द गोइत नै बाधक भएको आरोप लगाउँदै उपाध्यक्षसहित बहुमत वडा अध्यक्षहरुले आइतबार विज्ञप्ति जारी गरी षड्यन्त्र भएको बताएका छन्।
उपाध्यक्ष रुवीकुमारी गुप्ता, वडा ३ का अध्यक्ष कपलेश्वर मण्डल, ४ का हंसु मियाँ, ५ का विन्देश्वर यादव र ६ का सूर्यकुमार दासले जारी गरेको विज्ञप्तिमा गाउँपालिकाको साविक केन्द्र सार्ने निर्णय हुन नदिन अध्यक्षकै इसारामा कार्यालयमा तालाबन्दी गरिएको आरोप छ। सात वटा वडा रहेको गाउँपालिकाका अधिकांश सदस्य केन्द्र सार्ने पक्षमा देखिएपछि सोही निर्णय रोक्न कार्यालयमा तालाबन्दी गरिएको उनीहरुको बुझाइ छ।
‘मलहनियामा फागुन ३० गते बसेको बैठकले केन्द्र सार्ने वा यथास्थानमा राख्ने भन्नेबारे ठोस निर्णय गर्न सकेन। निर्णयका लागि चैत १ गते मतदान गर्ने सहमति भयो’, विज्ञप्तिमा भनिएको छ, ‘तर, मतदान गर्न जाँदा केन्द्रको मूलगेटमै ताला लागेको देखेपछि हामी आश्चर्यचकित भयौं।’
तालाबन्दीको विषयमा जानकारी लिन खोज्दा गाउँका केही व्यक्तिको समूहले ६ नम्बरका वडा अध्यक्ष सूर्यकुमार दासलाई हातपात समेत गरेको उनीहरुले जनाएका छन्। तर, अध्यक्षले सो विषयमा हालसम्म सोधखोज समेत नगरेको र कार्यालयको ताला खोल्न समेत पहल नगरेको उपाध्यक्ष मण्डलले जानकारी दिइन्।
अध्यक्षले वास्ता नगरेपछि आफ्नै अध्यक्षतामा बहुमत सदस्यहरुको बैठकबाट गाउँपालिकाको केन्द्र वडा नम्बर ६ स्थित थामी पोखरीको आसपासमा सार्ने निर्णय भएको उनले बताइन्। निर्णय कार्यान्वयनका लागि सम्बन्धित निकायसँग उनले माग पनि गरेकी छन्।
अध्यक्ष गोइतले पनि केन्द्र सार्ने विषयमा असन्तुष्ट पक्षले तालाबन्दी गरेको जनाएका छन्। तर, कसले गरेको भन्ने उनले स्पष्ट पारेका छैनन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।