काठमाडौं- भौतिक योजना तथा यातायातमन्त्री रघुवीर महासेठले २० वर्ष पुराना गाडी हटाउने निर्णयमा पुनर्विचार गर्ने बताएका छन्।
काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री महासेठले पुराना गाडी हटाउने निर्णयमा गम्भीर रहेको बताउँदै चाँडै नयाँ नीति कार्यान्वयनमा ल्याउने उल्लेख गरे।
‘२० वर्ष पुराना गाडी हटाउने निर्णयका विषयमा हामी गम्भीर छौं। चाँडै नयाँ नीति बनाउँछौं’, उनले भने।
पुराना गाडी कुनै न कुनै दिन हटाउनैपर्ने उनको भनाइ छ।
मन्त्री महासेठले चुनावका लागि बनाइएको साझा घोषणापत्रमा उल्लेख गरिएका सबै काम पाँच वर्षभित्र सम्पन्न गरिने दाबी गर्दै पाँच वर्षभित्रमा लक्षित योजनाहरु सम्पन्न गरेरै छाड्ने बताए।
‘सिंगापुर, मलेसिया र साइप्रसको विकास हुनसक्छ भने नेपालले किन सक्दैन? पाँच वर्षभित्रमा उपत्यकामा रेल गुड्छ, ढुक्क हुनुस्’, उनले भने ‘थाई एयरवेज र नेपाल वायुसेवा निगम एउटै वर्ष स्थापना भएको हो। थाई आज कहाँ पुगिसक्यो, नेपाल वायुसेवा निगम कहाँ छ? इच्छाशक्ति चाहिन्छ।’
उनले नेपालमा विकासका लागि पर्याप्त स्रोत-साधन भए पनि त्यसको सदुपयोग हुन नसक्दा विकास हुन नसकेको धारणा राखे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।