काठमाडौं- विशेष अदालतले भूकम्प पीडितलाई वितरण गर्न सरकारी कोषबाट खरिद गरिएको त्रिपालमा ३५ लाख रुपैयाँभन्दा बढी भ्रष्टाचार गरेको आरोप लागेका काठमाडौं जिविसका स्थानीय विकास अधिकारी तीर्थराज भट्टराईसहित ६ जनालाई सफाइ दिएको छ।
भ्रष्टाचार मुद्दामा ठहर गर्न प्रमाण पर्याप्त नभएको भन्दै विशेषले उनीहरु निर्दोष रहेको फैसला सुनाएको हो।
विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी र न्यायाधीशद्वय रत्नबहादुर बागचन र चण्डीराज ढकालको इजलासले उनीहरुलाई सफाइ दिने फैसला सुनाएको हो।
अख्तियारले उनीहरु विरुद्ध २०७२ माघ १९ गते ३५ लाख बिगो र २ वर्ष कैद सजाय माग गर्दै भ्रष्टाचार मुद्दा दायर गरेको थियो। आरोप लागेको डेढ वर्षपछि काठमाडौंका तत्कालीन एलडिओ भट्टराईसहित ६ जना दोषी नरहेको ठहर भएका हुन्।
भूकम्प पीडितलाई वितरण गर्न सरकारी कोषबाट खरिद गरिएको त्रिपालमा ३५ लाखभन्दा बढी भ्रष्टाचार गरेको अख्तियारको दाबी प्रमाण विनाको भएको विशेषको फैसलामा भनिएको छ।
सरकारले भन्सार छुट सुविधा दिएर भारतबाट आयात गरिएको ३ लाख २८ हजार मूल्यको त्रिपाललाई ४३ लाख ७९ हजारभन्दा बढी मूल्य कायम गरी भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर भएको थियो। अख्तियारले एलडिओ भट्टराईसहित काठमाडौं जिविसका लेखा अधिकृत यामनारायण शर्मा, स्टोर किपर चिरञ्जीवी खड्का, सप्लायर्सहरु मिथिलेश्वर तिवारी, झम्कप्रसाद गौतम र होमप्रसाद गौतम विरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको थियो।
बैशाख १२ गतेको भूकम्पपछि काठमाडौं जिविसले खरिद गरेको त्रिपालको बढी गुणस्तर, परिमाण र आकार उल्लेख गरी कम गुणस्तर, परिमाण र आकारको त्रिपाल खरिद गरिएको दाबी अख्तियारको आरोपपत्रमा उल्लेख थियो।
अख्तियारको आरोपपत्रमा भट्टराईले न्यु पशुपति ट्रेड एन्ड सप्लायर्सका सञ्चालक मिथिलेश्वर तिवारी, दिपेश इन्टरप्राइजेजका झम्कप्रसाद गौतम र सेविका इन्टरप्राइजेजका होमप्रसाद गौतमसँगको मिलेमतोमा मोटो रकम हिनामिना गरेको उल्लेख थियो। तर, विशेषले अख्तियारले त्यसको प्रमाण अदालतमा पेश गर्न नसकेको ठहर गरेको छ।
भट्टराईसहित जिविसका तीन सरकारी कर्मचारी र तीन जना सप्लायर्सलाई भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ८(१) ख, ग, र ञ तथा सेही ऐनको दफा ८(४) अनुसारको कसुर अपराधमा बिगो र बिगो बमोजिम जरिवाना र कैद सजाय हुनुपर्ने माग गरिएको थियो।
अख्तियारको भ्रष्टाचार मुद्दापछि कर्मचारीहरु पदबाट निलम्बनमा परेका थिए। तर, विशेषको फैसलाले उनीहरु पुन: सेवामा फर्कन पाउनेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।