मस्काे– रुसमा नयाँ राष्ट्रपति चयनका लागि आइतबार मतदान सुरु भएको छ।
रुसी महासंघको पूर्वी क्षेत्र काम्चाट्का र चोकोट्कामा आइतबार बिहान स्थानीय समय अनुसार ८ बजे मतदान सूरु गरिएको छ।
रुसको भू–भाग निकै ठूलो रहेको र यसका कारण यहाँको समयमा पनि फरक पर्ने भएकोले ती बाहेकका रुसका अन्य क्षेत्रका मतदाताले भने मतदानका लागि घन्टौँ कुर्नुपर्ने हुन्छ।
निर्वाचन अधिकारीहरुले जनाएअनुसार स्थानीय समयानुसार आइतबार बिहान ८ बजेबाट सुरु भएको मतदानको समापनका लागि धेरै घण्टा लाग्नेछ।
केन्द्रीय निर्वाचन आयोगका प्रमुख इल्ला पाम्फीलोभाले रुसका करिब ११ करोड नागरिक यस निर्वाचनमा मतदानका लागि योग्य भएको जानकारी दिए।
कुल मतदाता मध्ये करिब २० लाख नागरिक विदेशमा रहेको पनि उनले बताए। उनीहरुका लागि पनि विदेशमै मतदानको व्यवस्था मिलाइएको छ।
मतदानका लागि देशभित्र ९७ हजार मतदान केन्द्र तोकिएकोे छ भने विदेशमा रहेका रुसी नागरिकका लागि पनि ४ सय भन्दा बढी मतदान केन्द्रको व्यवस्था गरिएको बताइएको छ।
झण्डै १५ सय अन्तर्राष्ट्रिय अनुगमनकर्ताहरुले निर्वाचनको अनुगमन गरिरहेका पनि अधिकारीले जानकारी दिएका छन्। ती अनुगमनकर्ताहरु १ सय ९ देशबाट आएका हुन्।
रुसका वर्तमान राष्ट्रपति भ्यादिमिर पुटिनसहित ८ जना उम्मेदवार राष्ट्रपति पदका लागि चुनावी मैदानमा छन्। पुटिन स्वतन्त्र उम्मेदवार बनेर निर्वाचनमा सहभागि भएका छन्।
पुटिनसँग प्रतिश्पर्धा गर्न लिवरल डोमोक्र्याटिक पार्टी अफ रसिया (एलडीपीआर)को तर्फबाट भ्लादिमिर झिरिनोम्सक्याफ्रम र कम्युनिष्ट पार्टी अफ द रसियन फेडेरेसन (सिपीआरएफ)को तर्फबाट व्यापारी पाभेल ग्रुडीनीन, याब्लोको पार्टीबाट ग्रिगोरी याभ्लीङकी लगायतले उम्मेदवारी दिएका छन्।
मतदानको दुइ दिनअघि रुसी जनतालाई विशेष सम्बोधन गर्दै राष्ट्रपति पुटिनले रुसको भविश्यका लागि मतदान गर्न आह्वान गरेका थिए।
रुसको संघीय संविधानअनुसार राष्ट्रपतिको कार्यकाल ६ वर्षको हुनेछ। राष्ट्रपतिको उम्मेदवार हुनका लागि ३५ वर्ष पुगेको हुनुपर्ने, मतदाता नामावलीमा नाम भएको हुनुपर्ने लगायतका मापदण्डहरु तोकिएको छ। रासस/सिन्ह्वा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।