नयाँ दिल्ली (एजेन्सी)– भारतीय कमेडियन कपिल शर्मा र 'डाक्टर गुलाटी' को भूमिकाबाट ख्याति कमाएका सुनिल ग्रोवरबीच ‘वाक् युद्ध’ सुरु भएको छ। उनीहरुबीच ट्विटरमा कडा सवाल-जवाफ भएको हो।
पहिले सुनिलले कपिलले ल्याउन लागेको नयाँ टेलिभिजन कार्यक्रम ‘फेमिली टाइम विथ कपिल’का लागि आफूलाई अफर नआएको ट्विट गरेका थिए। त्यसको जवाफमा कपिलले सुनिललाई एक सय पटक फोन गरेको र भेट्न घरमै पुगेको भनी लेखे।
कपिलको जवाफमा फेरि सुनिलले ट्विटरमा लेखेका छन्– ‘म चुप रहेँ, ताकि तपाईंमाथि कुनै पनि असुविधा नहोस्।’
गत वर्ष सोनी टिभीमा 'द कपिल शर्मा शो' चलिरहेकै समयमा अस्ट्रेलियामा भएको एक कार्यक्रमबाट फर्कने क्रममा कपिल र सुनीलबीच विमानमै झगडा परेको थियो। त्यसपछि सुनीलसहित केही कलाकारले कपिलको शो नै छाडेका थिए।
आइतबार सुनिलले गरेको ट्विटमा लेखिएको छ, ‘अब मानिसलाई थाहा भयो कि म पहिलो शो (कपिल शर्मा शो) सँग किन जोडिइनँ! म यो शो (फेमिली टाइम विथ कपिल) को कुरा गरिरहेको छु, तपाईं पुरानो कुरामै रोइरहनुभएको छ। तपाईंको गरिमा जोगियोस् भनेर म एक वर्ष चुप बसेँ। हामीले एक समय सँगै काम गरेका छौं, अहिले पनि फाल्तु बोल्दिनँ।’
सुनिलले लेखेका छन्, ‘ध्यानपूर्वक पढ्नुहोस्, मैले अगाडिको शो र अहिलेको शो कुनैको पनि कुरा गरेको छैन। तपाईं राम्रो कमेडियन न हो। सबलाई थाहा छ। तर, मलाई पनि जित्न आउँछ, काम गरिरहनेछु। ध्यान दिइयोस्, किड्नी २ वटा र कलेजो एउटा मात्रै हुन्छ। आफ्नो स्वास्थ्यको ख्याल राख्नुहोस्।’
सुनिलले आफूलाई कपिलको नयाँ शो का लागि कुनै प्रस्ताव नआएको प्रस्ट पारेका छन्। उनले कपिलको नयाँ कार्यक्रमका लागि शुभकामना पनि दिएका छन्। कपिलको नयाँ कार्यक्रम सोनीमा २५ मार्चदेखि आउँदै छ।
सुनिल र कपिलबीच शुक्रबारबाट ट्विटरमा वाक् युद्ध सुरु भएको हो। कपिलको नयाँ कार्यक्रका लागि सुनिलका एक फ्यानले सोधेको प्रश्नमा सुनिलले यस्तो जवाफ दिए, ‘भाइ, तपाईं जस्तै अरुको पनि मलाई यही प्रश्न छ। तर, मलाई यो कार्यक्रमका लागि कुनै फोन कल आएको छैन। मेरो फोन नम्बर पनि बदलिएको छैन। फोन नआएपछि मैले अरु नै कार्यक्रमका लागि सिग्नेचर गरेको छु। तपाईंहरुको आशीर्वादले अर्को राम्रो काममा जोडिएको छु। चाँडै तपाईंहरुमाझ आउनेछु।’
कपिलले भने सुनिललाई यस्तो जवाफ फर्काएका छन्, ‘साथी, मैले तपाईंलाई एक सयभन्दा बढी कल गरेँ। दुई पटक घरमा भेट्न पनि गएँ। तर, भेट हुन सकेन। कृपया मैले कल गरिनँ भनेर गलत हल्ला नफैलाउनुहोस्।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।