हेलसिन्की– संयुक्तराज्य अमेरिका र उत्तर कोरियाका अधिकारीहरु आज फिनल्याण्डको हेलसिन्कीमा भेट्ने भएका छन्।
गएको मार्च ८ मा दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इनका विशेषदूत अमेरिका पुगेर वार्ताको प्रस्ताव राखेपछि यी दुई देशबीच भेटवार्ताको चर्चा सुरु भएको हो।
सोही वार्ताकै प्रयोजनका लागि यी दुई देशका अधिकारीहरु अनौपचारिक रुपमा हेलसिन्कीमा वार्तामा बस्न लागेका हेलसिन्कीबाट विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जानकारी दिएका छन्।
उत्तर कोरियाली विदेश मन्त्रालयको अमेरिका डेक्सका प्रमुख चोख्वाङ इल दुइ दिने औपचारिक भ्रमणका लागि आजैहेलसिन्की पुगेकोे यहाँको सरकारी टेलिभिजनले जानकारी दिएको छ।
साथै आजै दक्षिण कोरियाका लागि पूर्व अमेरिकी राजदूत काथलिन स्टेफन पनि यहाँ आइपुग्ने समाचारहरुमा जनाइएको छ।
उनीहरुकाबीचमा आज साँझ अनौपचारिक भेटघाट हुने कार्यक्रम रहेको एक दैनिक पत्रिका हेलसाइन सानमोतको अनलाइन संस्करणले जानकारी दिएको छ।
यो कुराको पुष्टि फिनल्याण्डको विदेश मन्त्रालयले पनि गरेको छ। उक्त दैनिक पत्रिकाका अनुसार विदेश मन्त्रालयले यी दुई अधिकारीहरुको भेटवार्ताको कार्यक्रम मिलाएको छ।
फिनल्याण्डको सरकारी समाचार समिति, एसटिटीले उक्त वार्ता आइतबार साँझ हेलसिन्कीमा रहेको जापानी दूताबासमा हुने पनि जानकारी गराएको छ।
फिनल्याण्डको विदेश मन्त्रालयको एसिया डेक्सका प्रमुख किमो लादेभिर्ताले सो वार्ता विशुद्ध प्राज्ञिक तर अर्थपूर्ण हुने भन्दै यसको व्यवस्थापन फिनल्याण्डले गरेको पुष्टि गरे।
उत्तर कोरियाली नेता किम जोङ उनको निमन्त्रणापछि अमेरिकाले उत्तर कोरियासँग वार्ता गर्ने आफ्नो औपचारिक धारणा सार्वजनिक गरेको थियो।
राष्ट्रपति ट्रम्पले सो वार्ता प्रस्ताव स्वीकार गर्दै उत्तर कोरियाका नेतासँग अमेरिकाले सर्तसहितको वार्ता गर्न तयार रहेको बताएका थिए।
उनले उत्तर कोरियाले आणविक अस्त्रको उत्पादन रोक्ने बाचा गरेको कारणले वार्ताका लागि आफू उत्साहित भएको पनि प्रष्ट पारेका थिए।
यसबीचमा राष्ट्रपति ट्रम्पले त्यस वार्ताका लागि जापान, दक्षिण कोरिया र चीनको पनि समर्थन र सहयोग रहेको खुलासा ट्वीटमार्फत नै गरेका थिए।
उत्तर कोरियाली नेता किम जोङ उन र राष्ट्रपति ट्रम्पबीच आगामी मे महिनाको अन्तिमतिर भेटवार्ता हुने कार्यक्रम पनि सोही समयमा तय भएको हो। तर त्यसको मिति भने निश्चित भएको छैन।
आजका लागि तय भएको हेलसिन्की वार्ता सोहि भेटवार्ताको तयारीको लागि तय भएको अनुमान गरिएको छ।
अमेरिका उत्तर कोरिया वार्ताको चर्चा सुरु भएपछि चिनियाँ राष्ट्रपति सि चिनफिङले पनि सफलताका लागि शुभकामना दिएका छन्।
उता दक्षिण कोरियाली ती विशेषदूतले यसै हप्ता चीनका राष्ट्रपति सि जिनपिङलाई पनि भेटेका थिए।
सो क्रममा राष्ट्रपति पिङले अमेरिका उत्तर कोरिया तथा उत्तर र दक्षिण कोरिया बीचमा भएको पछिल्लो विकसित घटनाक्रमका साथै वार्ताका बारेमा जानकारी लिएका थिए।
गएको फेब्रुअरी ९ देखि २५ सम्म दक्षिण कोरियामा सम्पन्न ओलम्पिक खेलकूदमा उत्तर र दक्षिण कोरियाका प्रतिनिधिहरुको सहभागिताबाट सम्बन्धमा पछिल्लो समयमा निकै सुधार आएको महसुश गरिएको छ।
यसै महिनाको अन्तिममा दुई कोरियाबीच उच्चस्तरीय बैठक आयोजना गर्ने तयारी भइरहेको दक्षिण कोरियाका राष्ट्रपति इनका प्रमुख सचिव इम जङ सियोकले दिएका छन्। रासस÷सिन्ह्वा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।