बिबिसी– फोहोर अत्यधिक भएपछि सगरमाथा क्षेत्रमा सरसफाइ अभियान सुरु भएको छ। आरोहणका क्रममा आरोही तथा घुम्न गएका पर्यटकहरुले फालेका फोहोर संकलन गर्न आइतबारदेखि सुरु गरिएको हो।
यस पटकको अभियानमा १ सय टनभन्दा बढी फोहार संकलन गर्ने लक्ष्य लिइएको छ। पहिलो दिनमै १ हजार २ सय किलो फोहोर प्रशोधनका लागि लुक्ला विमानस्थलबाट काठमाडौं ल्याइएको छ।
आरोहणका क्रममा निस्किएका सबै फोहोरलाई आरोहीहरुले आफूसँगै फर्काएर ल्याउनुपर्ने अन्तर्राष्ट्रिय मान्यता छ। तर, आरोहीहरुले यात्रा गर्दा असजिलो हुने भन्दै फोहोर गर्ने क्रम बढेको छ। बर्सेनि सयौं स्थानीय अभियन्ता तथा गाइडहरुले सगरमाथाको फोहोर संकलन गर्दै आएका छन्।
यस वर्षको सरसफाइ अभियान प्रशोधन गर्न मिल्ने फोहोर संकलनमा केन्द्रित हुने बताइएको छ। संकलित फोहोरलाई लुक्लाबाट प्रशोधनका लागि काठमाडौं ल्याउन निजी विमान संस्था यती एयरलाइन्सले सहयोग गरेको छ। अभियानमा सो एयरलाइन्सले यो वर्षभरि नै सघाउने बताइएको छ।
सगरमाथामा संकलित फोहोरमा बियरका खाली बोतल तथा क्यान, खाना लगिएको टिनका बट्टा तथा आरोहणका क्रममा प्रयोग भएका उपकरणहरु बढी मात्रामा भेटिएका छन्। संकलनका क्रममा आरोहणमा प्रयोग हुने अक्सिजन सिलिन्डर पनि धेरै संख्यामा पाइएको छ।
हालसम्म फोहोर संकलनमा स्थानीय शेर्पा समुदायको मात्रै सहभागिता रहने गरेकोमा यस पटक भने स्थानीय अभियन्ताहरुको पहलमा सगरमाथा प्रदुषण नियन्त्रण समिति गठन गरेरै अभियान थालिएको छ। धेरै उचाइमा जान स्थानीय शेर्पा समुदायलाई अनुकूल मानिने भएकाले अभियानमा उनीहरुलाई पनि समेटिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।