देशको बारेमा प्रसंग चल्दा 'नेताहरुले देश खत्तम पारे' भन्ने वाक्य हामी सबैले भन्दै र सुन्दै आएको हो। अब यस्तै प्रसंगमा नेताहरुले के भन्छन् त्यो पंक्तिकारलाई जानकारी छैन। किनकि पंक्तिकारको नेताहरुसँग कुनै हिमचिम र उठबस छैन। नेतासँग चिनजान भनेको मेरो स्थायी ठेगाना रहेको काठमाडौं वडा नम्बर १६ को वडा अध्यक्ष र सदस्यहरुसँग मात्र हो। होइन भने लगभग सबै राजनीतिक पार्टीका नेतासँग मेरो दोहरो परिचय छैन, केवल 'राजा चिनाइ' मात्र हो। अर्थात् म सबै नेतालाई चिन्छु तर उनीहरुले मलाई चिन्दैनन्। अरुहरुले फलानो कामरेड र ढिस्कानो दाजु भनेर कुरा गर्दा मलाई एक किसिमको इर्श्या लागेर आउँछ।
कहिले काहीँ सोच्छु यो संसारमा नेताहरूसँग दोहरो परिचय नहुने मान्छे म एउटा मात्र होला कि अरु पनि होलान्? दोहरो परिचय नभएपछि कसैसँग आशक्ति र घृणा हुने नै भएन। उनीहरुको समर्थन वा विरोधमा घाँटी सुक्नेगरी कराउनुपर्ने कारण पनि भएन। तर, देशको बागडोर समातेर बसेको भएर र यो देशको नागरिक भएकाले थोरै नै भए पनि कर तिर्ने कारणले उनीहरुको कार्य सम्पादनबारे बोल्न पाउनु मेरो अधिकार हो। मेरो विचारमा यो देश खत्तम पार्नुमा जति नेताको हात होला त्यति नै योगदान हामी जनताको पनि छ। ५ वर्षमा एउटा भोट दिएको आधारमा (त्यो पनि हो कि होइन उसैलाई मात्र थाहा हुन्छ) सम्बन्धित नेताबाट हामी पैसा, जागिर सबै खोज्छौं, जुन सम्भव छैन।
भ्रष्ट र नैतिकता गुमाएको नेता चुनावमा उठ्दा समेत उसैलाई भोट दिने, वरिपरि घुम्ने र उसैलाई विजयी गराउने अनि भोलि उसैलाई गाली गर्दै आफ्नो समय बर्बाद गर्ने परम्पराले देश कदापि बन्दैन। यदि, खराब नेता चुनावमा उठेको छ भने भोट नदिएर त्यसलाई सजाय दिने अधिकार त जनतासँग छ, तर त्यो अधिकार अहिलेसम्म सदुपयोग भएजस्तो लाग्दैन।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा विवादास्पद छविका लोकमानसिंह कार्कीको नियुक्ति भयो। मिडिया र सामाजिक सन्जालमा यो नियुक्तिको व्यापक विरोध भयो। केहीले बुझेर र केहीले होमा हो मिलाउँदै कार्कीलाई दानवीकरण गर्ने काम भयो। तर, उनलाई नियुक्त गर्ने यी नेताहरुको कसैले विरोध गरेनन्, यो अच्चम छ। तत्कालीन राष्ट्रपति डा रामवरण यादवले कार्कीलाई नियुक्त गर्न नमानेको र पछि अदृश्य शक्तिबाट दबाब आएपछि वाध्य भएर नियुक्ति गर्न परेको कुरा मिडियामा आएको थियो। अब पंक्तिकारजस्तो सामान्य व्यक्तिलाई के लाग्छ भने, एउटा स्वतन्त्र देशको राष्ट्रपतिजस्तो उच्च ओहदाको व्यक्तिलाई दबाब दिएर बिबादास्पद व्यक्तिलाई संवेदनशील पदमा नियुक्त गर्न सक्ने त्यो अदृश्य शक्ति को हो भन्ने जानकारी जनताले पाउनुपर्छ कि पर्दैन? यदि पर्छ भने त्यसको नाम उजागर गर्नुपर्थ्यो, होइन भने केको गणतन्त्र र केको पारदर्शी साशन व्यवस्था? साथै, मिडियाले हावादारी कुरा प्रकाशित गरेको भए देशको प्रचलित कानुन बमोजिम त्यस्ता मिडियालाई कारबाही गर्न सक्नुपर्यो।
अरुबेला तिनै नेताहरुलाई आमाचकारी गाली गर्नेहरुले चुनावका बेला तिनीहरुको समर्थन वा विरोधमा आफ्नो बहुमूल्य ऊर्जा खर्च गरेको देख्दा हामीले नेतालाई गाली गर्ने भनेको उनीहरुले हामीलाई वास्ता नगरेको र नबोलेका कारणले मात्र हो जस्तो लाग्छ। चुनावको परिणामपछि फूलमाला, खादा र अबिरले ढपक्क ढाकिएको विजयी उम्मेदवारको दायाँबायाँ उभिएका कार्यकर्ताहरुको मुख हेर्नुपर्छ, तिनीहरु किन त्यति प्रफ्फुलित भएका होलान् बुझ्न सकिँदैन, मानौं उनीहरुले नै चुनाव जितेका छन्।
यी र यस्तै कारणले देश खत्तम हुनुमा नेताको मात्र होइन जनताको पनि त्यतिकै हात भएको प्रतीत हुन्छ। सबै जनताले नेताको गलत कुरामा नभुलेर र उनीहरुसँग कुनै आशा नगरेर खबरदारी मात्र गर्ने हो भने पनि यस्तो दुरावस्था हुने थिएन।
अरुबेला कुनै वास्ता नगर्ने र चुनावको मुखमा वरिपरि घुम्ने नेता र त्यस्ता नेताहरुको चिल्लो कुरा र २-४ सय रुपैयाँमा लोभिने जनता हुन्जेलसम्म कुनै ठूलो आशा गर्न सकिन्न। देशमा इमान्दार नेता र त्यस्ता नेताबाट कुनै किसिमको आशा नगर्ने जनत पनि नभएका होइनन्, तर यस्तो वर्ग कि त 'माइनोरिटी'मा छ कि त उनीहरु आगडि आउने आँट गरिरहेका छैनन्।
अन्तमा नेतालाई मात्र एकनासले गाली नगरी हामीले पनि आफूले दिएको भोटको मूल्यको आशा नगर्ने हो भने केही राम्रो परिस्थितिको आशा गर्न सकिन्छ। होइन भने, पछाडि नेतालाई गाली गर्ने र अगाडि पर्दा हात मोलेर उसको सबैभन्दा नजिकको मै हुँ भन्ने प्रमाणित गर्न खोज्ने दोहरो मानसिकता राख्ने हो भने पुस्तौंपुस्तासम्म यस्तै नाटक भइरहने ठोकुवा गर्न सकिन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।