बनियानी– फोहरमैलाको दिगो व्यवस्थापनका लागि बिर्तामोड नगरपालिकामा सर्वेक्षण शुरु गरिएको छ।
नगरमा उत्पादित फोहरको दिगो व्यवस्थापनका लागि रणनीति तयार गर्न सर्वेक्षण शुरु गरिएको बिर्तामोड नगरपालिकाले जनाएको छ। वातावरण संरक्षण मञ्च नामक संस्थाले नगर क्षेत्रमा उत्पादित फोहरको तथ्यांक संकलन गरिरहेको नगरपालिकाले जनाएको छ।
वातावरण मञ्चका अध्यक्ष हैकम घिसिङका अनुसार वातावरण विज्ञान अध्ययन गरिरहेका १२ जना विद्यार्थी तथ्यांक संकलनमा खटिएका छन्।
‘बिर्तामोडको वडा नम्बर ४ र ५ का १ सय घर छनोट गरेर दैनिक उत्पादित फोहरबाट अध्ययन भइरहेको छ’, उनले भने, ‘जसका लागि विद्यार्थीले हरेक दिन बिहान घरको फोहरलाई संकलन गर्ने गरेका छन्।’ ७ वटा समूहमा विभाजित सर्वेक्षण टोलीले कुहिने र नकुहिने फोहरको वर्गीकरणसमेत गर्ने गरेका छन्।
१ सय वटा घर, ३० वटा व्यापारिक प्रतिष्ठान र २० वटा संघसंस्थाबाट फोहर संकलन गरेको १४ हप्ता पूरा भएको मन्चका अध्यक्ष घिसिङले जानकारी दिए। सर्वेक्षकहरुले नकुहिने फोहरको व्यवस्थापनमा चुनौती रहेको जनाएका छन्।
कुहिने फोहरलाई उत्पादकले नै व्यवस्थापन गर्न सक्ने अवस्था रहेको मञ्चका अध्यक्ष घिसिङको भनाइ छ। बिर्तामोड बजारमा दैनिक ६ ट्र्याक्टर फोहर उत्पादन हुने गरेको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।