विराटनगर– सुनसरीको बराह नगरपालिका ११ मा शनिबार राति भएको आगलागीमा ९० घर जलेका छन्।
पुरण चौधरीको घरबाट सुरु भएको आगोले ६२ परिवारका ९० घर जलेर नस्ट भएको प्रहरीले जनाएको छ। विद्युत् सर्ट भई आगो लागेको प्रहरीको भनाइ छ। ५ वटा दमकल, नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा ३ घन्टापछि आगो नियन्त्रणमा लिइएको र क्षतिको विवरण आइनसकेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।
आगो निभाउने क्रममा कोशी गाउँपालिका ३ का ४१ वर्षीय प्रभु सरदार घाइते भएका छन्। उनको नोबेल अस्पताल विराटनगरमा उपचार भइरहेको छ।
यसैगरी, इलाम र ओखलढुंगामा भएको आगलागीमा ३० लाख बराबरको क्षति भएको छ।
इलामको माइजोगमाई ६ प्याङका डम्मर बल्वभ अधिकारीको घरमा रहेको दूध डेरीबाट सुरु भएको आगलागीमा करिब १५ लाख मूल्य बराबरको क्षति भएको छ। आगोले २ तले घर, छुर्पी बनाउने मेसिन तथा सम्पूर्ण समान जलेको इलाका प्रहरी कार्यालय नयाँबजारले जनाएको छ।
यस्तै, ओखलढुंगाको लिखु गाउँपालिका १ का जितबहादुर बोगटीको घरमा लागेको आगोले ८ वटा बाख्रा जलेर मरेका छन्। नगद २५ हजारसहित घरका सम्पूर्ण सामग्री जलेकाले १५ लाख बराबरको क्षती भएको प्रहरीले जनाएको छ।
बोगटीको घरबाट सुरु भएको आगो नजिकै रहेको बिमिरे सामुदायिक वनमा समेत फैलिएको प्रहरी चौकी चुप्लुघोराखोरीले जानएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।