काठमाडौं– विष्णु घिमिरे कल्पितलाई नेपाली सिने क्षेत्रमा पर्दा पछाडिको नायक भन्दा फरक नपर्ला। ललितपुरको गोदावरी वडिगाउँमा जन्मिएका कल्पितले २०४६ सालबाट क्यामरा चलाउन सुरु गरेका हुन्। पारिवारीक पृष्ठभूमि कमजोर भएका कारण उनले एसएलसी परीक्षा दिएपछि फोटो स्टुडियोमा काम सुरु गरेका थिए। तर, अहिले उनी नेपालको उत्कृष्ट छायाँकारमध्येमा पर्छन्।
कतारी मिडिया हाउस अल–जजिरा, जापानको मिडिया कम्पनी एनएचके, जर्मन टिभी, टिभी साउथ एसिया, ओस्कारको मनोनयनमा परेका निर्देशक एरिक भ्याली, एमी अवार्डको मनोनयनमा परेकी पत्रकार सुविना श्रेष्ठ जस्ता विभिन्न अन्तर्राष्ट्रिय संस्था तथा व्यक्तिसँग आवद्ध रहेर काम गरिसकेका कल्पित नेपाली फिल्म क्षेत्रमा पनि उत्तिकै सक्रिय छन्।
उनले आफ्नो करिअरको सुरुवात एनालग सिस्टमबाट गरेका थिए। तर, आजको डिजिटल युगमा पनि उनी उत्तिकै पोख्त र परिस्कृत देखिन्छन्। भन्छन्, ‘कहाँ आजको प्रविधि अनि कहाँ उतिबेलाको। त्यतिबेला खुला आकाशमा सूर्यको प्रकाशलाई पछ्याउँदै फोटो खिचेर ७÷८ दिनमा फोटो निकाल्ने प्रविधि थियो। तर एकदमै असजिलो।’
काम गर्न थालेको ६ महिनापछि कलरमा फोटो प्रिन्ट हुन थालेको कल्पित सम्झन्छन्। ‘त्यो पनि हङकङमा प्रिन्ट गरेर नेपाल आउँदा ६ महिना लाग्थ्यो। आफूले खिचेको फोटो हेर्न पनि ६ महिना कुर्नु पथ्र्यो,’ उनी भन्छन्।
अहिलेको युग आफूले भोगे जस्तो नभएको उनको ठम्याई छ। उनले ०५६ सालतिर रामकृष्ण ढकालको फिल्म आशिर्वादमा स्टिल फोटोग्राफरको रुपमा काम गर्ने मौका पाएका थिए। सामान्य फोटो स्टुडियो, विवाह, ब्रतवन्धमा फोटो खिच्दा–खिच्दै फिल्ममा काम गर्न पाउनु कल्पितका लागि स्वभाविक रुपमा ठूलो कुरा थियो। यसपछि उनको भाग्यले नयाँ मोड लियो।
कल्पित सानैदेखि गीत–संगीत र साहित्यमा रुचि राख्थे। तर, घरायसी बाध्यताका कारण उनले आफ्नो रुचीलाई त्यागेर स्टुडियोमा काम गर्नुपर्यो। अनुभव सुनाउने क्रममा उनले भने, ‘मलाई कहिलेकाहीँ अचम्म लाग्छ। क्यामेरा बोकेर पनि यति ठूलो प्रगति गर्न सकिन्छ भन्ने कुरामा।
उनको करिअरले त्यतिबेला युटर्न लिएको थियो, जब दैयव शाहको फिल्म ‘बेइमानी’ मा विजय चालिसेले उनलाई स्टिल फोटोग्राफीको अफर गरे। ‘यसपछि निर्माता गौतम श्रेष्ठले आफूले निमार्ण गरेको फिल्मको नियमीत सुटिङमा मलाई स्टिल फोटोग्राफीका लागि बोलाउन थाल्नु भयो।’
नेपाल लाइभसँगको कुराकानीमा कल्पित आफ्नो जीवनको भोगाई र अनुभव खोल्न आतुर देखिए। भन्दै थिए, ‘काम गर्न खुब मजा आईरहेको थियो।’
एकदिन गौतम श्रेष्ठले नयाँ फिल्म ‘मुक्तिदाता’को युनिटमा कल्पित नभएको जनाउ दिएछन्। कल्पितको मन त्यतिबेला निकै चिसिएको थियो। उनी पहिलो पल्ट स्तब्ध भए। उनलाई स्टिल फोटोग्राफी प्रति नै वितिष्णा जागेर आएछ। उनले स्टिल फोटोग्राफीमा भविष्य नै देखेनन्।
यसपछि उनको जीवनले अर्को मोड लियो। उनी भारतको पुना पुगेर भिडियोग्राफीको औपचारिक अध्ययनमा लागे। यतिबेला कल्पितले पाटन क्याम्पसबाट बिएको अध्ययन पुरा गरिसकेका थिए। तर, पुनामा उनले अध्ययन पुरा गर्न सकेनन्।
फोटोग्राफीमा उनको अनुभव देखेपछि त्यहाँका प्रोफेसरले उनलाई सर्टिफिकेटका लागि भन्दा पनि अनुभव र सीपका लागि अध्ययन गर्न सुझाए।
नेपाली फिल्मका छाँयाकार र निर्देशकले कुरा गर्दागर्दै मुम्बैया फिल्मबाट प्रभावित बनेका कल्पितले पुनामा बस्दै गर्दा मुम्बई धाउने कामलाई पनि निरन्तरता दिए। जब उनले मुम्बैया मसाला फिल्म निमार्णको तिगडम बुझे, उनलाई सवै बेकार लाग्यो।
उनी अहिले पनि भन्ने गर्छन्–‘विगतमा नेपाली फिल्म मेकरले मुम्बईको फिल्मी शैलीलाई नपछ्याएर विदेशी इन्डस्ट्री पछ्याएको भए आज नेपाली फिल्म निकै माथि उठिसकेको हुने थियो।’
नेपाली फिल्म उद्योगले जे कुरामा ध्यान दिनेपर्ने हो, त्यसमा नदिएर, अन्य कुरामा बढी ध्यान दिएका कारण स्तर घटेको उनको ठम्याई छ।
पुनामा बस्दै मुम्बईको अध्ययन अंगाल्ने सोच कल्पितलाई चित्त बुझेन। त्यसपछि उनले पुनास्थित गान्थी रोडमा खोलिएको एक प्राइभेट इन्सिच्युटमा सिनेमेट्रोग्राफीको अध्ययन गरे।
त्यहाँ पनि उनको मन बसेन। यहाँ अध्ययनरत हुँदा उनका थुप्रै भोगाई छन्। कल्पितले यहाँ फिल्मको व्यवहारिक अध्ययन त गरे तर सर्टिफिकेट नबोकी फर्किए। करिब साढे तीन वर्ष नेपाल र पुना धाउने क्रममा उनले सिनेमेटोग्राफीमा छुट्टै स्थान बनाइसकेका थिए।
भारत बसाइँमा उनले फिल्म त खिचेनन् तर सामान्य डकुमेन्ट्री, सिरियललगायत केही प्रोजेक्टमा काम गरे। पुनाबाट फर्किएपछि उनले केही समय नेपाल वान टेलिभिजमा पनि जागिर खाए।
सिनेमेटोग्राफरको रुपमा कल्पितको पहिलो फिल्म ‘हिफाजत’ थियो। उनले जलजला, मलाइ माफ गरिदेउ, समय, अन्दाज हुँदै गत शुक्रबारबाट रिलिज भएको ‘मंगलम’ फिल्ममा पनि क्यामरा घुमाईसकेका छन्।
फिल्म खिचेर अहिलेसम्म कति दाम कमाए, उनी त्यो खुलाउन चाहँदैनन्। तर, आत्मसन्तुष्टी भने पाएको उनको भनाई छ। ‘अन्दाज’बाट राष्ट्रिय पुरस्कार जितेका उनी ‘विदेशमा नेपाली फिल्मको सिनेमेटोग्राफर हुँ’ भनेर छाती फुलाउने अवस्था नआइसकेको बताउँछन्।
‘अहिले पनि म विभिन्न अन्तर्राष्ट्रिय संघ सस्थामा आबद्ध हुने बेला नेपाली फिल्मको सिनेमेटोग्राफर नभएर एक सहयोगीको रुपमा काम गर्ने गरेको बताउँछु।’
नेपाली फिल्ममा प्रायः स्क्रिप्टले मागेको दृष्य, दर्शकको मनोविज्ञान र दृष्यमा दिनुपर्ने प्रकाश एकातर्फ रहने तर बलिउड, हलिउडको अनावश्यक सिको गरेर प्रोड्युसर र डाइरेक्टरको दबाबमा दृश्य सम्पादन गर्नुपर्ने बाध्यता रहेको उनी बताउँछन्। ‘त्यसैले हामीले शिर ठाडो पारेर अन्तर्राष्ट्रिय जगतमा बोल्न सक्ने अवस्था छैन,’ उनले भने।
नेपालको प्राकृतिक बनोट र यहाँको कथावस्तुका कारण विभिन्न अन्तर्राष्ट्रिय अवार्डका लागि मनोनित हुने फिल्म तथा डकुमेन्ट्री पनि क्यामरा र कलरटोनको अव्यावहारिक प्रस्तुतीले गर्दा अवार्ड जित्न नसकेको उनको बुझाइ छ।
कल्पितले राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा धेरै अनुभव सँगालिसकेका छन्। नेपाली सिनेमेटोग्राफीमा आफूलाई कहाँ पाउनुहुन्छ भन्ने प्रश्नमा उनी भन्छन्, ‘आइ एम अ पर्फेक्ट स्टुडेन्ट अफ द सिनेमेटोग्राफी इन नेपाल।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।