एजेन्सीहरू- ५ सय ४५ सदस्यीय भारतीय लोकसभाको तीन स्थानका लागि भएको उप निर्वाचनको परिणामलाई लिएर खासै चर्चा नहुनुपर्ने हो। तर, गत बुधबार परिणाम सार्वजनिक भएको उत्तर प्रदेशको दुई र बिहारको एक निर्वाचन क्षेत्रको विषयलाई लिएर अहिले भारतीय राजनीति तातेको छ।
खासगरी भारतीय सञ्चार माध्यमले उत्तर प्रदेश लोकसभा निर्वाचनमा देखिएको परिणामलाई महत्वका साथ उठाइरहेका छन्। किनभने एक वर्षअघि मात्रै उत्तर प्रदेश राज्यमा भएको विधानसभा निर्वाचन ‘क्लिन स्विप’ गरेको भारतीय जनता पार्टी (भाजपा) लोकसभा उप निर्वाचनमा पराजित भयो। यी निर्वाचन क्षेत्र मुख्यमन्त्री योगी आदित्यानाथ र उप मुख्यमन्त्री केशवराज मौर्यले राजीनामा गरेपछि रिक्त थिए।
इलाहावादको फूलपुर निर्वाचन क्षेत्रमा मौर्यले पहिलो पटक भाजपालाई चुनाव जिताएका थिए। नेपालसँगै सीमा जोडिएको गोखरपुर भाजपाको पुरानो गढ थियो। योगी आफैं यो निर्वाचन क्षेत्रबाट लगातार पाँच पटक लोकसभाका सांसद बनेका थिए भने उनीअघि उनकै गुरु गोरखपुर पीठका महन्थ अवैधनाथले तीन पटक जितेका थिए।
दुवै क्षेत्रमा अखिलेश यादवको समाजवादी पार्टी (सपा)का उम्मेदवारले जित हात पारेका छन्। यादवलाई स्थानीय राजनीतिमा आफ्नो चिरप्रतिद्वन्द्वी मानिने मायावतीको बहुजन समाज पार्टी (बसपा) ले समर्थन गरेको थियो।
सन् २०१४ को लोकसभा निर्वाचनमा उत्तर प्रदेशमा ७१ स्थानमा जित हात पारेको भाजपाका लागि अहिले २ स्थान गुमाएको भन्दा पनि दुवै क्षेत्रीय दलको मिलन ठूलो चिन्ता बनेको छ। अखिलेश र मायावतीको पार्टीको तालमेलले सुखद परिणाम पनि दिएको छ।
सन् २०१४ को लोकसभा निर्वाचनमा ८० मध्ये ७१ स्थानमा भाजपा र दुई स्थानमा उसकै सहयोगी पार्टीले जित हासिल गरेको थियो। उत्तर प्रदेशको राजनीतिमा लामो समयदेखि दबदबा बनाएको सपा ५ स्थानमा खुम्चिएको थियो भने ३ करोड भोट ल्याएको बसपाले खाता पनि खोल्न सकेको थिएन।
एक वर्षअघि राष्ट्रिय राजनीतिको मुद्दामा लडिने लोकसभा र स्थानीय मुद्दामा लडिने विधानसभा निर्वाचनमा एकैखाले परिणाम आएपछि क्षेत्रीय दल धेरै हदसम्म झस्किएका थिए।
यसैले पनि यसपालिको उप निर्वाचनमा परस्पर प्रतिद्वन्द्वी सपा र बसपालाई एकै ठाउँमा आउन विवश बनाएको थियो। उपनिर्वाचनको परिणामपछि दुवैले भविष्यमा पनि तालमेल गर्दै जाने घोषणा गरेका छन्। दुवै दलले लोकसभा उपनिर्वाचनलाई ’टेस्ट केस’ का रुपमा लिएका थिए। दुवै दलबीच गठबन्धन गर्ने घोषणा निर्वाचनको मितिभन्दा ८ दिनअघि मात्र भएको थियो।
करिब साढे दुई दशकदेखि एक अर्काको खुट्टा तान्दै आइरहेका दुवै दल पहिलो पल्ट एक–अर्काको उम्मेदवारलाई लिएर सकारात्मक देखिएका थिए।
यो निर्वाचनले मायावतीको पक्षमा दलित भोट चट्टानझैँ अडिग रहेको पनि देखाएको छ। यादव र मुसलमान सपाको भोटर बैंकका रुपमा रहँदै आएको छ।
परिणामले भारतको केन्द्रीय राजनीतिमा नयाँ तरंग ल्याएको छ। उत्तर प्रदेशमा राम्रो प्रदर्शन नगरी कुनै पनि दलले केन्द्रमा सरकार बनाउन कठिन मानिन्छ।
२१ करोड जनसंख्या रहेको उत्तर प्रदेशबाट लोकसभामा सबैभन्दा बढी ८० सांसद चुनिन्छन्। त्यसैले भारतीय राजनीतिमा ’दिल्ली पुग्ने बाटो लखउन हुँदै जान्छ’ भन्ने चलन नै छ। ३० वर्षपछि सन् २०१४ मा भएको निर्वाचनमा भाजपाले बहुमत ल्याउनुमा पनि उत्तर प्रदेशबाट प्राप्त गरेको ७१ सिटको जित महत्वपूर्ण थियो।
गत वर्ष उत्तर प्रदेशमा भएको विधानसभा निर्वाचनमा भाजपाले दुई तिहाई स्थानमा जित हासिल गरेको थियो। यसपछि धेरैले सन् २०१९ को सुरुमा हुने लोकसभा निर्वाचनमा मोदीको विजयी रथलाई रोक्न नसकिने बताउँदै आइरहेका थिए। यस अवस्थामा अहिलेको परिणाम भाजपाका लागि सुखद मानिदैन्।
सपा र बसपाबीच यसअघि सन् १९९३ मा पनि गठबन्धन भएको थियो। बाबरी मस्जिद ढालेपछि भारतीय समाज विभाजित भएको स्थितिमा भाजपाले उत्तर प्रदेशमा चुनाव जित्ने अनुमान धेरैले गरेका थिए। केन्द्रीय राजनीतिमा लालकृष्ण आडवाणी र उत्तर प्रदेशमा कल्याण सिंहको दबदबा अहिले नरेन्द्र मोदी र योगी आदित्यनाथको भन्दा कम थिएन।
यस समयमा बसपा नेता काशीराम र सपाका मुलायम सिंह यादवले गठबन्धन गर्दै भाजपालाई उत्तर प्रदेशमा सरकार बनाउन रोकेका थिए। अहिले फेरि स्थिति उस्तै देखिन थालेको छ। त्यसैले यतिबेला सन् १९९३ झैं लखनऊमा नारा लाग्न थालेको छ–
‘माया – अखिलेशके हात मिले।
योगी मोदीके होस उडे।’
सन् १९९३ मा बिजेपीलाई सत्तामा जानबाट रोकेपछि लखनऊमा पहिलो पल्ट यस्तो नारा लागेको थियो–
‘मिले मुलायम – काशीराम
हावा होगई जय ! श्रीराम’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।