म्यान्चेस्टर– ब्राइटन एन्ड होभ अल्विवनलाई २–० ले हराउँदै म्यानचेस्टर युनाइटेड(म्यान्यु) एफए कपको सेमीफाइनलमा प्रवेश गरेको छ। गएराति घरेलु मैदान ओल्ड ट्राफोडमा भएको छैटौँ चरणको खेलमा रोमियो लुकाकु र निमान्जा म्याटिकले गोल गरेपछि युनाइटेडले अन्तिम ४ मा स्थान सुरक्षित गरेको हो।
प्रतियोगिताका पछिल्ला १२ खेलमा ११औँ गोल गर्ने क्रममा युनाइटेड स्ट्राइकर लुकाकुले खेलको ३७ मिनेटमा नै टिमलाई अग्रता दिलाए। म्याटिकको पासमा उनले हेडमार्फत गोललाई जाली चुमाउन सकफल भएका थिए। युनाइटेडबाट खेलेका ४४ खेलमा उनको यो २५औँ गोल हो।
पहिलो हाफ युनाइटेडले आफ्नो पक्षमा पारे पनि दोस्रो हाफमा भने ब्राइटन खेलमा फर्किने कोशिष गर्यो। तर यहि सिजन नै १४ मिलियन पाउन्डमा ब्राइटन आएका जुर्गेन लोकाडियाले पाएका ४ वटा मौका खेर फाले। सुरुका २ प्रहार युनाइटेडका किपर सर्जियो रोमेरोले बचाए पनि पछिल्ला २ प्रहार गोलपोष्ट केन्द्रित हुन सकेन।
उता खेल सकिन ७ मिनेट बाँकि रहँदा युनाइटेडका आस्ले योङको फ्रिकिकलाई म्याटिकले सदुपयोग गर्दै युनाइटेडको जित सुनिश्चित गरे।
गत साता च्याम्पियन्स लिगमा सेभिल्लासँग पराजित भएको युनाइइटेडको जितले घरेलु दर्शकलाई राहत दिएको छ। व्यक्तिगत रुपमा युनाइटेड म्यानेजर जोस मौरिन्होका लागि पनि यो जित स्मरणीय रह्यो। सन् २००७ मा चेल्सीलाई अन्तिम ४ मा पुर्याएका माउरिन्होले ११ वर्षपछि एफए कपको सेमीफाइनलमा पाइला टेक्न सफल भएका हुन्।
यसैबिच एफए कप अन्तर्गत नै अन्तिम ४ मा प्रवेशका लागि गएराति भएको अर्को खेलमा टोटनह्याम विजयी भएको छ। क्रिस्टियन इरिक्सनको २ तथा एरिक लामेलाको १ गोलको मदतले टोटनह्यामले स्वान्सी सिटीलाई ३–० ले पराजित गरेको हो।
लिवर्टी स्टेडियममा भएको खेलमा टोटनह्यामले ७५ प्रतिशत समय बल आफ्नो पक्षमा पारेको थियो। जितसँगै उ लगातार दोस्रो पटक एफए कपको सेमीफाइनलमा पुग्न सफल भएको छ।
एपए कपका बाँकि क्वाटरफाइनलका खेलहरु आज हुँदैछन्। पहिलो खेलमा विगन एथलेटिकले साउथह्याम्पटनको सामना गर्दा दोस्रो खेलमा चेल्सीले लेस्टर सिटीविरुद्ध सेमीफाइनल प्रवेशका लागि खेल्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।