रियाद– सिरियाली प्रतिपक्षी समूहका प्रमुखले संयुक्त राष्ट्रसंघ असफल भएको बताएका छन्।
प्रतिपक्षी समूहको वार्ता टोलीका प्रमुख नसर अल हरिरिले रियादमा सञ्चारकर्मीसँग शनिबार भने,‘हामीले सिरियाको गुटा लगायतका क्षेत्रमा अपराधलाई रोक्न असफल हुनुमा प्रत्यक्ष जिम्मेवार राष्ट्रसंघ, सुरक्षा परिषद् र विश्व समुदायको मौनता भएको ठहर गरेका छौँ।’
‘तर यो पनि बिर्सिन्नौँ कि सिरियामा अपराध फैलाउन प्रत्यक्ष भूमिका निर्वाह गर्ने पक्ष भनेको सिरियाली सरकार र यसलाई साथ दिने मुलुक नै हुन्।’
रसियाबाट सहयोग प्राप्त सिरियाली सरकारी बलले पूर्वी गुटा क्षेत्रमा गत फेब्रुवरीदेखि आक्रमण थालेको र झण्डै ७० प्रतिशत भूभाग पुनः कब्जामा लिएको छ।
उक्त कारबाहीमा सयौँ बालबालिकासहित १ हजार ४ सय सर्वसाधारणको मृत्यु भएको सिरियाली मानवअधिकारवादी संस्था, सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले जनाएको छ।
उक्त क्षेत्रमा सरकारी फौजले गरेको आक्रमणबाट जोगिन शुक्रबार र शनिबार झण्डै ४० हजार सर्वसाधारण सरकार नियन्त्रित क्षेत्रमा भाग्न बाध्य भएका बताइएको छ।
सन् २०११ मा सुरु भएको सरकार विरोधि आन्दोलनका क्रममा यहाँका ३ लाख ५० हजार नागरिकले ज्यान गुमाएका छन् भने जनसङ्ख्याको झण्डै आधा सङ्ख्या कुनै न कुनै रूपमा विस्थापित बनेको छ। रासस/एएफपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।