काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले चिनियाँ राष्ट्रपति सि जिनपिङलाई राष्ट्रपतिमा पुनः निर्वाचित भएकामा बधाई ज्ञापन गरेकी छन्।
शनिबार एक बधाई सन्देश दिदैँ राष्ट्रपति भण्डारीले नेपाल र चीनबीच सुमधुर आपसी सम्बन्ध रहँदै आएको र सो मैत्री सम्बन्ध आगामी दिनमा पनि झन् प्रगाढ हुने विश्वास व्यक्त गरेकी परराष्ट्र मन्त्रालयले जनाएको छ।
यसैगरी उपराष्ट्रपति नन्दबहादुर पुनले चिनियाँ उपराष्ट्रपतिमा निर्वाचित भएकामा वाङ क्वीसानलाई बधाई ज्ञापन गरेका छन्। उपराष्ट्रपति पुनले आफ्ना चिनियाँ समकक्षीलाई दिएको बधाई सन्देशमा नेपाल र चीनबीचको सम्बन्ध आगामी दिनमा अझै बलियो हुने विश्वास व्यक्त गरेका छन्।
यसैगरी प्रधानमन्त्री केपी शर्मा ओलीले पनि चिनियाँ राष्ट्रपति सि जिनपिङ पुनः राष्ट्रपतिमा निर्वाचित भएकामा बधाई ज्ञापन गरेका छन्। प्रधामन्त्री ओलीले शनिबार नै दिएको बधाई सन्देशमा नेपाल र चीनबीचको सम्बन्ध सुमधुर रहेको उल्लेख गर्दै उच्चस्तरमा हुने भ्रमण र जनस्तरको सम्बन्धले यसलाई अझ प्रगाढ बनाउने बताएका छन्।
सन्देशमा प्रधानमन्त्री ओलीले नेपाल ‘एक चीन नीति’ प्रति प्रतिबद्ध रहेको र नेपालको भूमी चीनविरुद्ध प्रयोग हुन नदिइने उल्लेख गरेका छन्। साथै, प्रधानमन्त्री ओलीले राष्ट्रपति पिङको कार्यकालमा दुई देशबीचको आपसी सम्बन्ध अझ दरिलो हुने विश्वास व्यक्त गरेका छन्। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।