नयाँ दिल्ली (एजेन्सी)- सुपरस्टार रजनीकान्त अभिनीत तमिल फिल्म 'काला' यस वर्षको बहुप्रतीक्षित फिल्म हो। रजनीकान्तसँगै यस फिल्ममा काम गरेका एक अभिनेतालाई उनको आनीबानीले निकै प्रभावित बनाएको रहेछ। ती अभिनेता हुन् पंकज त्रिपाठी।
पंकजका अनुसार 'काला' को सुटिङका क्रममा रजनीकान्तले उनको खानपिनबारे निकै ख्याल गर्थे।
'मैले समयमा खाना खाएँ कि खाइनँ भनेर उनी पिरोलिइरहन्थे', उनले भने। पंकजको यो पहिलो तमिल फिल्म हो।
रजनीकान्तबारे उनी भन्छन्, 'उहाँसँग मेरो सुटिङको अनुभव निकै अद्भूत रह्यो। उहाँ निकै विनम्र पाएँ। हरेक दिन मैले समयमा खाना खाएँ कि खाइनँ भनेर ध्यान दिनुहुन्थ्यो। हामीबीच अभिनय, आध्यात्मिकता र फिल्म उद्योगबारे कुराकानी हुन्थ्यो।'
उनी अगाडि भन्छन्, 'रजनी सर क्यामेराको अगाडि एकदम अलग रुपमा प्रस्तुत हुनुहुन्छ। मैले सँगै काम गर्दा धेरै कुरा सिकेँ। मलाई थाहा थियो, कुनै दिन उहाँ जस्तो प्रतिभाशाली व्यक्तिसँग काम गर्ने अवसर मिल्नेछ। प्रस्ताव आउनासाथै म राजी भएँ।'
'काला' का लेखक तथा निर्देशक पा. रञ्जित हुन्। नाना पाटेकर र हुमा कुरैशी पनि देखिने यो फिल्म २७ अप्रिलमा रिलिज हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।