बुटवल– २० औं तिलोत्तमा गोल्डकपको उपाधि थ्रीस्टार क्लबले जितेको छ। शनिबार बुटवलको देवीनगरस्थित फिफा टेक्निकल सेन्टरको खेल मैदानमा नेपाल पुलिस क्लबलाई २–० गोलले पराजित गर्दै थ्रीस्टार च्याम्पियन बनेको हो।
६६ औं मिनेटमा पुलिस कप्तान रविन श्रेष्ठको आत्मघाती गोल गर्नु पुलिसका लागि दुर्भाग्य सावित बन्यो। ७९ औं मिनेटमा थ्रीस्टारका कप्तान निराजन खड्काको अग्रता दोब्बर पारेका थिए।
२०३३ सालमा तत्कालिन बुटवल नगरपालिकाले स्थापना गरेको तिलोत्तमा गोल्डकप ४ संस्करणमा विजेता भएको पुलिस क्लवलाई २० औं संस्करणमा उपविजेतामा समेट्दै थ्रीस्टाले पहिलो पटक उपाधि हात पारेको हो । तिलोत्तमा गोल्ड कपको गत वर्ष भएको १९ औं संस्करणको उपाधि संकटा क्लबले जितेको थियो।
उपाधिसँगै थ्रीस्टारले ७ लाख ७७ हजार ७ सय ७७ रुपैंया र उपविजेतामा सीमित पुलिसले ४ लाख ४४ हजार ४ सय ४४ रुपैंया हात पारेका छन्।
थ्रीस्टारका कप्तान निराजन खड्काले उत्कृष्ट खेलाडी स्कुटी तथा २१ हजार १ सय ११ रुपैंया नगद पुरस्कार प्राप्त गरेका छन् । त्यस्तै प्रतियोगितामा उत्कृष्ट स्ट्राइकर पुलिसका रेजिन सुब्बा, उत्कृष्ट मिडफिल्डर नेपाल पुलिसकै भोला सिलवाल, उत्कृष्ट डिफेन्डर आयोजक रुपन्देही ११ का पूर्णबहादुर श्रेष्ठ, उत्कृष्ट गोलरक्षक थ्रीस्टारका एलन न्यौपाने तथा उत्कृष्ट प्रशिक्षक थ्रीस्टारका प्रशिक्षक मेघराज केसी भए । उनीहरुलाई जनही २१ हजार १ सय ११ रुपैंया नगद पुरस्कार प्रदान गरिएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।