काठमाडौं- माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले दक्षिण एसियालाई विश्वकै शान्त र समृद्ध क्षेत्र बनाउन सबैमा अपिल गरेका छन्।
राजधानीमा आयोजित दक्षिण एसियाका व्यापारिक नेतृत्वकर्ताहरुको छैटौं सम्मेलनलाई सम्बोधन गर्दै दाहालले आपसी एकता र सामूहिक प्रयासबाट दक्षिण एसियाली देशलाई शान्त र समृद्ध बनाउन अपिल गरे।
‘मानवीय तथा प्राकृतिक स्रोतका दृष्टिले दक्षिण एसीया धनी छ। क्षेत्रीय सामीप्यता, सांस्कृतिक समानता र विकासको चाहना उत्प्रेरक पक्ष रहेका छन्’, उनले भने ‘अब दक्षिण एसियाली देशहरुबीचको आपसी एकता र सामूहिक प्रयासको खाँचो छ।’
विश्वमा दक्षिण एसियाको सम्मानजनक स्थान निर्धारण गर्नुपर्नेमा जोड दिनुपर्ने बताउँदै उनले परस्पर लाभ हुने किसिमले सहकार्यलाई अघि बढाउनुपर्नेमा जोड दिए।
‘यो बीचमा सार्कले केही संयन्त्र निर्माण गरेको छ, कतिपय सम्मेलन भएका छन, र सहयोगको एउटा आधार तयार भएको छ।’ उनले भने ‘तर सार्कले शान्ति, स्थायित्व र समृद्धिको हाम्रो आशा भने अझै पूरा गर्न सकेको छैन।’
दक्षिण एसियाको समृद्धिका लागि क्षेत्रीय व्यापारको महत्वमा जोड दिँदै दाहालले विश्व मानचित्रमा दक्षिण एसियाले सम्मानित स्थान खोजेको धारणा राखे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।