मस्को– रसियाले मस्कोस्थित २३ जना बेलायती कुटनीतिज्ञलाई देश निकाला गर्ने भएको छ। लन्डनमा कार्यरत आफ्ना २३ जना कूटनीतिज्ञलाई बुधबार देश निकाला गर्ने बेलायत सरकारको घोषणाको विरुद्धमा रसियाले पनि सोहि संख्यामा बेलायती कुटनीतिज्ञलाई देश निकाला गर्ने जनाएको हो।
बेलायती प्रधानमन्त्री थेरेसा मेले पूर्व गुप्तचर ६६ वर्षीय सेर्गेइ स्क्रिपाल र उनकी ३३ वर्षीया छोरी युलियाको हत्या प्रयासमा दोषी ठहर गरी रसियाली कुटनीतिज्ञलाई देश निकाला गर्ने घोषणा गरेकी थिइन्।
सोहि निर्णयको विरोधमा रसियाली विदेश मन्त्रालयले आगामी एक साताभित्र मस्कोस्थित बेलायती दुताबासमा कार्यरत सबै कर्मचारीलाई पनि देश निकाला गर्ने घोषणा गरेको छ।
रसियाली विदेश मन्त्रालयका अनुसार दुई देशबीचको सांस्कृतिक सम्बन्धलाई प्रवद्धन गर्दै आएको ब्रिटिस काउन्सिल तथा सेन्ट पिटर्सवर्गस्थित बेलायती कन्सुलेटको कार्यालय पनि बन्द गरिने छ।
देश निकालाको घोषणा गर्ने क्रममा प्रधानमन्त्री थेरेसा मेले ती कूटनीतिज्ञहरु अघोषित गुप्तचर अधिकारी रहेको पुष्टि भएको बताएकी थिइन्। बेलायती प्रधानमन्त्रीले रुससँगको कूटनीतिक सम्बन्ध टुटाउन भने नचाहेको स्पष्ट पारेकी थिइन्। तर दुई पक्षीय उच्चस्तरीय कूटनीतिक सम्पर्क भने तत्कालका लागि स्थगित गरिएको बेलायतले जनाएको थियो।
रसियाको विदेश मन्त्रालयबाट बाहिरिदैँ बेलायती राजदुत लाउरी ब्रिस्टो
रसियाका लागि बेलायती राजदुत लाउरी ब्रिस्टोलाई शनिबार रसियाको विदेश मन्त्रालयमा बोलाएर रसियाको पछिल्लो निर्णयको बारेमा जानकारी दिइएको छ। जानकारी लिने क्रममा ब्रिस्टो १० मिनेट मात्र मन्त्रालयमा बसेका थिए।
आफ्नो वक्तव्यमा रसियाली विदेश मन्त्रालयले बेलायतका तर्फबाट यस्तै अनैतिक घोषणाहरु भएको खण्डमा यसले अन्य प्रतिशोधक क्रियाकलापहरु गर्न बाटो खोलीदिने चेतावनीसमेत दिएको छ।
रसियाली विदेश मन्त्रालयबाट फर्किनुअघि राजदुत ब्रिस्टोले बेलायतको रसियाली जनतासँग कुनै पनि द्वेश नराखेको बताएका थिए। उनले भने,‘बेलायत सधैँ आफ्नो सुरक्षाका लागि आवश्यक कदमहरु चाल्छ जुन उपयुत्त छन्।’
बेलायतका पूर्व गुप्तचर स्क्रिपाल र उनकी छोरीलाई गत मार्च ४ मा विष खुवाइएको थियो। उनीहरुको अहिले गम्भीर अवस्थामा उपचार भइरहेको छ। गत मार्च ४ मा ती बाबुछोरीलाई बेलायतको दक्षिण शहर सालिसवरीस्थित एक सपिङ सेन्टर अगाडि बेहोस अवस्थामा भेटिएको थियो।
हत्या प्रयास गरिएका पूर्व गुप्तचर स्क्रिपाल र उनकी छोरी
सोहि विषयमा बुधबार आकस्मिक रुपमा बोलाइएको संयुक्त राष्ट्रसंघअन्तर्गत सुरक्षा परिषदको बैठकमा बेलायत सरकारको निर्णयप्रति रुसले गम्भीर असन्तुष्टि व्यक्त गरेको थियो। सो बैठकमा सुरक्षा परिषद्का सदस्य राष्ट्रहरुले आफ्नो धारणा राखेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।