काठमाडौं- उपराष्ट्रपतिमा नन्दबहादुर पुन निर्विरोध भएका छन्। आज दिउँसो २ बजेसम्मको समयसीमामा उनको मात्र एकल उम्मेदवारी परेकाले पुन निर्विरोध भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। राष्ट्रपतिमा उम्मेदवारी दिएको प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले उपराष्ट्रपतिका लाागि भने उम्मेदवारी दिएन।
सत्ताको नेतृत्वकर्ता दल एमालेको प्रस्ताव र माओवादी केन्द्रको समर्थनमा पुनले उम्मेदवारी दर्ता गराएका हुन्। उनी बहालवाला उपराष्ट्रपति समेत हुन्। उनको प्रस्तावकमा सुवास नेम्वाङ, पम्फा भुसाल, भानुभक्त ढकाल, रेखा शर्मा र पर्शुराम नेगी गुरुङ छन्। समर्थकमा देव गुरुङ, ओनसरी घर्ती, जयपुरी घर्ती, रामनारायण विडारी र राजेन्द्रप्रसाद गौतम रहेको छन्।
उपराष्ट्रपतिमा पुनले दोहरिने इच्छा देखाएपछि माओवादी केन्द्रले उनको नाम सिफारिस गरेको हो। अघिल्लो कार्यकाल छोटो समयको भएको सोही पदमा दोहोर्याउन पुनले शीर्ष नेतृत्व समक्ष मनसाय व्यक्त गरेका थिए।
निर्वाचनलगत्तै राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपतिमा नन्दबहादुर पुनलाई दोहोर्याउने वाम गठबन्धनका प्रमुख दुई नेताले सहमति गरेका थिए। सोही अनुसार राष्ट्रपतिमा भण्डारी निर्वाचित भइसकेकी छिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।