काठमाडौँ- काठमाडौँ उपत्यकाको ऐतिहासिक नगर कीर्तिपुर क्षेत्रबाट आज करिब २५ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ।
काठमाडौँको दक्षिण क्षेत्रमा पर्ने त्यस स्थानमा रहेका ऐतिहासिक महत्वका क्षेत्र, सम्पदास्थल, नदी तथा कुवालगायत विभिन्न स्थानमा अहिलेसम्म जम्मा भएका कुहिने÷नकुहिने फोहर सफाइ गरिएको हो।
राजनीतिक परिवर्तनमा महत्वपूर्ण योगदान पुर्याएका कीर्तिपुरवासी आज सामाजिक कार्यमा व्यस्त देखिन्थे। नगर क्षेत्रलाई फोहर तथा प्रदूषण मुक्त बनाउन करिब दुई हजार व्यक्तिले सामूहिक रुपमा प्रण गरेका छन्।
कीर्तिपुर नगरपालिकाको आयोजनामा भएको उक्त कार्यक्रममा स्थानीय लोकतान्त्रिक चोक, बाघभैरव, विष्णुदेवी, देवढोकालगायतका १९ स्थानमा विभाजित भई नगरभित्रका फोहर व्यवस्थापनमा सक्रिय भएका थिए।
नगर सफाइ अभियानको नेतृत्व नगर प्रमुख रमेश महर्जनले गरेका थिए। उनलाई सुरक्षाकर्मी, स्थानीयवासी, विभिन्न संघ संस्थाका प्रतिनिधिले साथ दिएका थिए।
बिहान ७ बजेदेखि ९ बजेसम्म गरिएको सफाइ अभियान लोकतान्त्रिक चोकदेखि कीर्तिपुर चक्रपथसम्मका स्थानीयवासीले सडक किनारामा भेला भई एकापसमा हात समाउँदै बाँधिएको आत्मीयताले अब त्यस क्षेत्रमा फोहर नगर्ने र स्वच्छ सफा राख्न प्रतिबद्धता जनाएको सन्देश पाइएको थियो।
स्थानीयवासी प्रकाश थापाले नगर क्षेत्रमा बाटो, ढललगायत पूर्वाधार व्यवस्थित हुन नसकेका कारण त्यहाँ बढ्दै गएको प्रदूषणले जनजीवनमा नकारात्मक प्रभाव पारेको विचार व्यक्त गर्दै सफाइका साथै सही स्थानमा फोहर व्यवस्थापनको खाँचो रहेको बताए। सधैजसो राजनीतिक गतिविधिमा व्यस्त रहने कीर्तिपुरवासीलाई स्थानीय सामाजिक सङ्घ संस्था, उद्योगी तथा समाजसेवीले पनि सघाएका थिए ।
राम्रो कानुनको व्यवस्था भए पनि कार्यान्वयन पक्ष फीतलो भएकाले विभिन्न रसायन, ढलको मिसावट नदी तथा सडक किनारमा हुन थालेपछि समस्या विकराल बन्दै गरेका अवस्थामा सबैको सहकार्यबाट त्यस क्षेत्रको प्रदूषण न्यूनीकरण गर्न अभियान थालिएको नगरपालिकाले जनाएको छ। कृष्णराज गौतम/रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।