चितवन- भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका एक अधिकृतमाथि डिजेल छर्केर जिउँदै आगो लगाउने प्रयास भएको छ।
भरतपुर महानगरपालिका–७ कटहरचोकबाट कपाल काटेर घर फर्कने क्रममा बिहान ८ः५० बजे माछापुच्छ्रे चोक नजिकै अस्पतालका कानुन अधिकृत गोकर्ण सापकोटामाथि आक्रमण भएको हो।
सापकोटाका अनुसार स्कुटरमा घरतर्फ आउने क्रममा मोटरसाइकलमा आएका दुई जनाले स्कुटर रोकेर हातपात गर्दै डिजेल छर्केका थिए। 'डिजेल छर्कर्दै गर्दा मेरो टिसर्टमा समाएका थिए, टिसर्ट च्यातेर भाग्न सफल भएँ,' उनले भने।
१९/२० वर्ष र ३५/३६ वर्षको अर्काे व्यक्तिले आफूलाई समाएर र डिजेल खन्याएको उनले बताए। 'तँ गोकर्ण विष्ट होस् भनेर सोधे, मैले होइन भनेँ, अर्काेले यही हो भनेर मलाई समात्यो,' उनले घटनाबारे बताए।
सापकोटा मानव अधिकार तथा सामाजिक रुपान्तरण अभियान (काउराष्ट्र) का जिल्ला अध्यक्ष र नेपाल बार एसोसिएसन चितवनका साधारण सदस्य पनि हुन्।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।