काठमाडौं– आइसिसी एकदिवसीय विश्वकप छनोटअन्तर्गत आज सातौं स्थानको खेलमा नेदरल्यान्ड्सले नेपाल विरुद्ध ब्याटिङ गरिरहेको छ।
जिम्बावेको क्वेक्वे मैदानमा टस जितेर नेरल्यान्ड्सले ब्याटिङ गरिरहेको हो।
लाइभ टेक्स्टका लागि यहाँ क्लिक गर्नुहोस्।
बिहीबार पपुवा न्युगिनीलाई ६ विकेटले पराजित गर्दै एकदिवसीय मान्यता प्राप्त गरेको नेपाली टिम आत्मविश्वासी छ। बिहीबार नै नेदरल्यान्ड्सले हङकङलाई पराजित गरेपछि नेपालको एकदिवसीय मान्यता पक्का भएको थियो।
एक महिनाको बीचमा आइसिसी विश्व क्रिकेट लिग डिभिजन–२ हुँदै एकदिवसीय मान्यता पाएको नेपाल विश्वकप छनोटको अन्तिम खेलमा नेदरल्यान्ड्सलाई पराजित गर्दै अर्को खुसी थप्न चाहन्छ।
डब्लुसिएल च्याम्पियनसिप जित्दै १३ देश सहभागी हुने एकदिवसीय प्रतिस्पर्धामा स्थान बनाएको नेदरल्यान्ड्सको लक्ष्य सुपर ६ थियो। सुपर ६ मा पुग्न असफल नेदरल्यान्ड्सका लागि सातौं स्थान पनि महत्वपूर्ण छ। त्यसलै नेदरल्यान्ड्सका लागि नेपाल विरुद्धको खेल प्रतिष्ठाको लडाइँ हुने पक्का छ।
पपुवा न्युगिनी विरुद्धको खेलमा नेपालको बलिङ उत्कृष्ट थियो। सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले समान ४–४ विकेट लिएपछि पपुवा न्युगनी २७.२ ओभरमा १ सय १४ रनमै सेमिटिएको थियो।
लगातार तीन खेलमा पराजित भएपछि पछिल्ला २ खेलमा जित निकालेको नेपालको ब्याटिङ मध्यक्रमले सम्हालेको छ। ओपनिङ सधैंझैं खराब रहेको नेपालका समस्या एकै स्तरको ब्याटिङ गर्न नसक्नु हो।
नेदरल्यान्ड्सले पनि प्रतियोगितामा राम्रो ब्याटिङ गर्न सकेको छैन। प्रतियोगितामा नेदरल्यान्ड्सले एक पटक मात्र १ सय ८० रन कटाएको छ। हङकङ विरुद्धको खेलमा पनि नेदरल्यान्ड्स १४५/३ बाट १ सय ७४ मै अलआउट भएको थियो। यद्यपी नेदरल्यान्ड्सको बलिङ राम्रो छ। उसले हङकङ विरुद्धको खेल उत्कृष्ट बलिङले नै जितेको थियो।
टिम नेपाल
पारस खड्का (कप्तान), ज्ञानेन्द्र मल्ल, शक्तिप्रसाद गौचन, सोमपाल कामी, करण केसी, आरिफ शेख, सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी, अनिलकुमार साह, रोहितकुमार पौडेल र ललितनारायण राजवंशी।
टिम नेदरल्यान्ड्स
पिटर बोरेन (कप्तान), वेस्ले बारेसी (विकेटकिपर), वेन कुपर, बास डे लिडी, स्कट इडवार्ड, फ्रेड क्लासे, म्याक ओडउड, पिटर सिलर, सेन स्नाटर, टिम भान डेर गुग्टेन, रोइलोफ भान मेर्वे,।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।