कोलम्बो– भारत, बंगलादेश र श्रीलंकाबीचको त्रिकोणात्मक सिरिजको उपाधिका लागि भारत र बंगलादेशबीच प्रतिस्पर्धा हुने भएको छ।
शुक्रबार भएको समूह चरणको अन्तिम खेलमा बंगलादेशले श्रीलंकामाथि २ विकेटको रोमाञ्चक जित निकाल्दै भारतसँगको उपाधि भिडन्त पक्का गरेको हो। फाइनल आइतबार हुँदैछ।
खेलका दौरान दुई पक्षका खेलाडीहरु झगडामा उत्रिएका थिए। यस्तै खुसी मनाउने क्रममा बंगलादेशको ड्रेसिङरुपको सिसा समेत फुटेको थियो।
श्रीलंकाले दिएको १ सय ६० रनको लक्ष्य बंगलादेशले ८ विकेट गुमाएर १ बल बाँकी छदा पार गर्यो। अन्तिम २ बल बाँकी छदा जितका लागि ६ रन चाहिएको स्थितिमा बंगलादेशका मोहमुदुल्लाहले छक्का प्रहार गरेका थिए। उनले नटआउट ४३ रन जोडे। १८ बलमा उनले ३ चौका र २ छक्का प्रहार गरे। त्यसअघि १८, १९ र २० ओभरमा एक–एक विकेट गरी लगातार तीन विकेट गुमाउदा खेल रोमाञ्चक बनेको थियो। त्यसअघि ओपनर तमिम एकवालले ५० रनको योगदान गरेका थिए।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाले ७ विकेटको क्षतिमा १ सय ५९ रन जोड्यो। श्रीलंकाका लागि कुशल परेराले ६१ तथा थिसरा परेराले ५८ रन जोडेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।