वासिंगटन डिसी– अमेरिकी संघीय अनुसन्धान ब्युरो(एफबिआई)का कार्यकारी निर्देशक एन्ड्र्यु म्याककेबलाई मुख्य न्यायाधिवक्ता जेफ सेसनले बर्खास्त गरेका छन्। राष्ट्रपति डोनाल्ड ट्रम्पसँग राजनीतिक मत बाझिएपछि जनवरीदेखि नै म्याककेब बिदामा बसेका थिए।
राष्ट्रपति निर्वाचनका बेला म्याककेब ट्रम्पकी प्रतिद्वन्दी हिलारी क्लिन्टनको इमेल प्रकरण तथा रसियाको संलग्नताका विषयमा एफबिआईको अनुसनधानमा क्रियाशिल थिए।
म्याककेबको बर्खास्तगी उनकाे ५०औँ जन्मदिनको मात्र २ दिनअघि गरिएको छ। सो दिन म्याककेबले पेन्सनसहितको अवकास लिने सोचमा थिए।
ट्रम्प प्रशासनले आन्तरिक अनुसन्धानबाट म्याककेबले सञ्चार माध्यमहरुमा अनधिकृत रुपमा समाचार चुहाएको आरोप स्विकृत भएपछि सो कदम चालिएको बताएको छ।
शुक्रबार अबेरगरी आफ्नो वक्तव्य जारी गरेका सेसनले भने,‘इन्सपेक्टर जेनेरलको रिपोर्ट, उनको व्यवसायीक जिम्मेवारीप्रति एपबिआई कार्यालयको निश्कर्ष तथा विभागका सिनियर करियर अफिसियलको सिफारिसमा म्याककेबलाई बर्खास्त गरेको छु।’
पदमुक्त भएपछि म्याककेबले ट्रम्प प्रशासनको उक्त निर्णय आफ्नो रचनात्मकता तथा विश्वसनियतामाथिको प्रहार भएको टिप्पणी गरेका छन्। ‘यो अमेरिकी गुप्तर समुदायलाई बदनाम गराउन भएको ठूलो प्रयासको हिस्सा थियो।’, उनले भने।
म्याककेबले पूर्व एपबिआई निर्देशक जेम्स कोमे पदमुक्त हुँदा अनुसन्धानका क्रममा आफुले देखेका सत्य घटना र खेलेको भूमीका नै आफ्नो बर्खास्तगीको कारण हुनसक्ने आंकलन गरे। क्लिन्टन इमेल प्रकरणमा कोमेको भूमीकाप्रति असन्तुष्टि राख्दै राष्ट्रपति ट्रम्पले एफबिआई निर्देशकबाट कोमेलाई पदमुक्त गरेका थिए।
राष्ट्रपति ट्रम्पले गत डिसेम्बरमा म्याककेबमाथि आलोचनात्मक टिप्पणीसहितको ट्विट गरेका थिए। ट्विटमा लेखिएको थियो,‘एफबिआई कार्यकारी निर्देशक म्याककेब पूर्ण लाभसहित रिटायर हुने दौडमा छन्। ९० दिन मात्रै बाँकि?’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।