ब्रातिस्लाभा– स्लोभाकियामा पछिल्लो ३ सातादेखि जारी सरकार विरोधी शान्तिपूर्ण प्रदर्शनमा बिहीबार मात्रै करिब ६५ हजार जनता सडकमा उत्रीएका छन्। पत्रकार वान कुकियाक र उनकी श्रीमती मार्टिना कुस्निरोभाको हत्यापछि प्रधानमन्त्री रोवर्ट फिकोले पदबाट राजिनामा दिनुपर्ने माग गर्दै प्रदर्शन सुरु भएको हो।
बिहीबार राजधानी ब्रातिस्लाभामा भएको प्रदर्शनले प्रधानमन्त्री फिकोलाई पद छाड्न दबाब बढेको छ। तर जानकारहरु भने फिको शक्तिमै रहने तर उनले छिट्टै चुनावको मिति घोषणा गर्नसक्ने बताउँछन्।
प्रधानमन्त्री फिकोले हालको गठबन्धन सरकारलाई ४ वर्षका लागि जनताले म्यान्डेट दिएकोले सन् २०२० सम्म नै आफ्नो नेतृत्वको सरकार शक्तिमा रहने बताउँदै आएका छन्।
मारिएका पत्रकार कुसियाकले इटालियन संगठित अपराधसँग जोडिएका राजनीतिक भ्रष्ट्रचारीको बारेमा अध्ययन गरिरहेका थिए। सो अध्ययनको अन्तिम नतिजा कुसियाकको मृत्युपछि गत फेबु्रअरीको अन्तिममा मात्र सार्वजनिक भएको थियो। भ्रष्ट्राचारको विरुद्धमा कदम चाल्न सरकार असफल भएको भन्दै प्रतिवेदन सार्वजनिक भए लगत्तै जनताहरु स्वतस्फुर्त रुपमा विरोधमा उत्रीएका थिए।
शुक्रबार मात्रै देशका ३५ शहरमा विरोध प्रदर्शन भएको थियो। राजधानीपछिको दोस्रो ठूलो शहर कोसिकमा भने अघिल्लो साताको तुलनामा शुक्रबार प्रदर्शनकारीको संख्या कम रहेको बिबिसी संवाददाता रोब क्यामेरोनले बताए।
गएको साता राजधानी ब्रातिस्लाभामा कम्युनिष्ट शासन ढलेपछि कै सबैभन्दा ठूलो प्रदशन भएको बताइएको थियो। प्रदर्शनमा करिब ४० हजारभन्दा बढी जनताको सहभागिता रहेको थियो।
यो साता प्रधानमन्त्रीले राजिनामा दिनुपर्ने भन्ने मागलाई पछि सारेर नयाँ निर्वाचनको मिति घोषणा गर्नुपर्ने माग उठाइएपछि प्रदशनकारीको संख्यामा वृद्धि भएको जनाइएको छ।
पछिल्लो ३ सातादेखि भएका प्रदर्शनमा अगजनी तथा तोडफोडका छिटपुट मात्रै घटना भएका बिबिसीले लेखेको छ। प्रदर्शनका क्रममा कतिपयले प्रधानमन्त्री फिकोलाई जेल हाल्नुपर्ने समेत बताएका थिए।
पत्रकार कुसियाकको हत्यापछि सरकारले ७ जनालाई पक्राउ गरेको थियो। तर सामान्य सोधपुछपछि उनीहरुलाई रिहा गरिएको छ। हमलसम्म हत्याको आरोपमा कसैलाई पनि मुद्दा भने चलाइएको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।