काठमाडौँ- जनसांस्कृतिक महासंघ नेपालले यस वर्षको ‘लाइफटाइम अचिभमेन्ट’बाट रायनलाई सम्मान गर्ने भएको छ।
नेपाली जनवादी गीतसंगीतका क्षेत्रमा योगदान पुर्याएबापत नारायणभक्त श्रेष्ठ ‘रायन’लाई रु १५ हजारका साथ सम्मान गरिने महासंघका अध्यक्ष सरल सहयात्रीले जानकारी दिए।
यसैगरी महासंघले ‘जनसांस्कृतिक राष्ट्रिय सम्मान–२०७४’ विमल निभा, ‘प्रगतिशील संगीत सम्मान’ जीवन शर्मा, ‘जनवादी गायन सम्मान’ सीता आचार्य, ‘प्रगतिशील ललितकला सम्मान’ रामकृष्ण भण्डारी, ‘प्रगतिशील चलचित्र सम्मान’ सुभाष गजुरेल, ‘प्रगतिशील नृत्य सम्मान’ जानुका राई र ‘प्रगतिशील नाटक सम्मान’ अशोक शिवाकोटीलाई दिइने बताइएको छ।
सम्मानित अन्य स्रष्टालाई पनि रु १५ हजार राशिसहित ताम्रपत्र दिइनेछ। २०५५ चैत ५ गते काभ्रेपलाञ्चोक जिल्लाको अनेकोटमा तत्कालीन राज्य पक्षबाट प्रगतिशील गीत गाइरहेका सात जनकलाकारलाई सामूहिक हत्या गरिएको दिनको सम्झनामा महासंघले यस बर्षदेखि सम्मान गर्न थालेको अध्यक्ष सहयात्रीले बताए।
चैत ५ गते उक्त सम्मान दिइनेछ। सो दिन महासंघले सांस्कृतिक प्रतिरोध दिवस मनाउँदै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।