काठमाडौँ- अर्थमन्त्री डा युवराज खतिवडाले नगरवासीले बढी कर तिरेर सुविधा धेरै लिनुपर्नेमा सेवा धेरै खोज्ने तर कर तिर्न नखोज्ने प्रवृत्तिको अन्त्य हुनुपर्ने बताएका छन्।
नेपाल नगरपालिका संघको रजत महोत्सव समारोहमा शुक्रबार उनले कर नतिरी सुविधा खोज्दा मुलुकको ऋण बढ्ने बताए। 'भूउपयोग नीति बने पनि ऐन नबन्दा भूमिको जथाभावी प्रयोग भएको छ, सरकार छिटो भूउपयोग ऐन संघीय संसद्मा पेश गर्ने तयारीमा छ,' डा खतिवडाले भने। बस्ती विकासलाई व्यवस्थित बनाइनुपर्नेमा पनि उनले जोड दिएका छन्। जनसंख्याको दुई तिहाइ जनता नगरवासी भएको बताइएको छ।
प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले स्थानीय सरकार बलियो बनाइएको संविधान दक्षिण एसियामै नेपाल पहिलो भएको जिकिर गरे। 'संघीय सरकारको कर्मचारीतन्त्र स्थानीय तहमा अधिकार दिने पक्षमा छैन, यसैले स्थानीय तहले पाएको अधिकार सशक्त र प्रभावकारी ढंगले प्रयोग गर्नुपर्छ,' उनले भने, 'स्थानीय तहले बनाएको कानून राष्ट्रपति र प्रधानमन्त्रीले पनि मान्नुपर्छ।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।