काठमाडौं- नेपाली क्रिकेटले ऐतिहासिक एक दिवसीय मान्यता पाएको छ। नेपालले यति ठूलो सफलता हात पार्नुमा नेपाली क्रिकेटका धेरै उतारचढाव जोडिएर आउँछन्।
सन् १९८५ मा न्युजिल्यान्डका स्टार ब्याट्सम्यान तथा पूर्व कप्तान मार्टिन क्रो जतिबेला क्रिकेटको सर्वोच्च अवार्ड विज्डनबाट पुरस्कृत हुँदै थिए, उनका बाबु डेभ भने क्रिकेट खेल्न नेपाल आउने तरखर गरिरहेका थिए। तर, उनको नेपाल आउने साइत जुर्यो, आफ्नो कान्छो छोरा विज्डन वर्ष खेलाडी घोषित भएको अर्को वर्ष मात्र। डेभ आफैं क्रिकेट खेलाडी थिए। तर, उनले देशका लागि भने खेलेनन्।
सन् १९५३ मा जतिबेला न्युजिल्यान्डका एड्मन्ड हिलारी र नेपालका तेन्जिङ नोर्गे विश्वको सर्वोच्च हिमाल सगरमाथा चढ्दै थिए, त्यतिबेला डेभ विलिङ्टनबाट व्यावसायिक क्रिकेट खेल्थे।
गरमाथामा हिलारीको सफलतासँगै न्युजिल्यान्डका धेरै नागरिक नेपालतर्फ आकर्षित भए, त्यसमा एक थिए, डेभ। देब्रे हातले ब्याटिङ गर्ने डेभले ‘ए’ डिभिजन क्रिकेट पनि खासै खेलेका होइनन्।
उनले सन् १९८५ सम्म व्यावसायिक क्रिकेट खेल्ने क्रममा ३ खेल मात्र खेले। तर, उनी सन् २००० मा नमरुन्जेल क्रिकेटमा सक्रिय रहे। यसमा पनि उनी तीन जना मान्छेका कारण बढी चर्चामा रहे।
उनका दुवै छोरा मार्टिन र जेफ क्रोले न्युजिल्यान्डका लागि क्रिकेट खेले। अर्का हलिउड स्टार रसेल क्रो उनका भतिजा थिए।
सन् १९८६ मा न्युजिल्यान्डका युवा तथा प्रतिभाशाली केटाहरू जम्मा पारेर नेपाल भ्रमणमा निस्किँदा डेभको उद्देश्य थियो, हिलारीले सगरमाथा चुमेको देशको दर्शन गर्ने। तर, उनको भ्रमणले नेपाली क्रिकेटमै तरंग ल्याइदियो।
उनको भ्रमण अगाडि सन् १९८१ मा काठमाडौंमा पहिलो राष्ट्रिय क्रिकेट प्रतियोगिता जय ट्रफी आयोजना भएको थियो। सन् १९४८ मा स्थापना भएको नेपाल क्रिकेट संघ (क्यान) ले त्यतिबेला सम्म संघको मान्यता पाएको थिएन। त्यसैले राष्ट्रिय प्रतियोगिताअघि राष्ट्रिय खेलकुद परिषद्का तत्कालीन सदस्य–सचिव शरदचन्द्र शाहले क्यान पदाधिकारीसामु एउटा प्रस्ताव राखेका थिए। ५ वटा अञ्चललाई सहभागी गराएर राष्ट्रिय प्रतियोगिता गराए मात्र क्यानलाई संघको मान्यता दिने, नभए नदिने।
शाहको यो उर्दीपछि क्यानले प्रतियोगिताका लागि सबै अञ्चलमा पत्राचार गर्यो। नतिजा, प्रतियोगिता खेल्नुअघि ११ वटा अञ्चल तँछाडमछाड गर्दै आइपुगे। पहिलो राष्ट्रिय प्रतियोगितामा भाग नलिने अञ्चल थिए, कर्णाली, धौलागिरी र महाकाली। वास्तवमा महाकालीले सुरुमा भाग लिने आश्वासन दिएको थियो तर अन्त्यमा नाम झिक्यो।
पहिलो जय ट्रफीको सफलतापछि परिषद्ले क्यानलाई संघको आधिकारिकता प्रदान त गर्यो। तर, यति हुँदाहुँदै पनि क्यान राष्ट्रिय खेलकुद परिषद्को वर्गीकरणमा पुछारतिर थियो। परिषद्ले फुटबल र मार्सल आर्ट्सलाई ‘ए’ श्रेणीमा राखेको थियो र त्यही अनुसार आर्थिक सहयोग उपलब्ध गराउँथ्यो।
डेभको नेपाल आगमनपछि भने परिषद्ले आफ्नो पुरानो मान्यता तोड्यो। र, क्रिकेटलाई फुटबल र मार्सल आर्ट्ससँगै ‘ए’ ग्रेडमा राख्यो।
त्यतिबेला भयो के भने, डेभको सक्रियतामा क्यानले न्युजिल्यान्डसँग २ खेल खेल्यो। क्यानले नेपाल रातो र निलो गरी दुई टिम बनाएको थियो। नेपाल रातोबाट श्रीनिवास राणाको कप्तानीमा खेल्न उत्रिएका थिए, भूपाल शाह, नवीन सुवाल, दीलिप कपुर, श्रीहर्ष कोइराला, विज्ञान पाण्डे, सतेन्द्र थापा, रञ्जित राणा, विजय शर्मा र सुवर्ण नरसिंह जोशी लगायत।
नेपाल निलोमा नेपालका पहिलो अन्तर्राष्ट्रिय कप्तान उत्तम कर्मचार्यको नेतृत्वमा प्रफुल्ल वैध, दीपक कोइराला, सागरनाथ प्याकुरेल, अशोकनाथ प्याकुरेल, सुरेश थापा, पुकार पन्त लगायत खेलाडी सम्मिलित थिए।
खेल आयोजना भएको थियो, टुँडिखेलमा म्याट ओछ्याएर। त्यो पनि ४५ ओभरको। मैदानमा साइड स्क्रिनको कुनै व्यवस्था थिएन। सबै खेलाडीले सेतो लुगामा खेलेका थिए। डेभले नेपाल रातोविरुद्धको खेल खेले। तर, नीलोविरुद्धको खेलमा उनी अम्पायरको भूमिकामा देखा परे।
नेपाल रातोसँग भएको खेलमा डेभले ५२ रन बनाएका थिए। ‘उनको ब्याटिङ ठिकै थियो। तर, रनिङ विट विन द विकेट गजबको,’ उनीसँगै क्रिकेट खेलेका नवीन सुवाल सम्झन्छन्। सुवाल हाल राष्ट्रिय खेलकुद परिषद्मा वरिष्ठ टेबल टेनिस प्रशिक्षक छन्।
डेभले युवा र बुढाहरूको सन्तुलित टिम लिएर आएका थिए। नेपालका तर्फबाट श्रीनिवास राणाले राम्रो खेलेका थिए। त्यतिबेला न्युजिल्यान्डसँग क्रिकेट खेलेका क्यानका पूर्व छनोटकर्ता विजय शर्माको यस खेलमा राम्रो अनुभव रह्यो। उनी आफूहरूसँग खेलेका एकजना खेलाडी पछि न्युजिल्यान्डको टेस्ट टोलीमा पर्न सफल भएको बताउँछन्।
‘नेपाल रातोले राम्रो टक्कर दियो। हामीले १ सय ४० रन बनाएका थियौं। उनीहरूको पनि छिट्टै ३–४ विकेट झरेको थियो। तर, डेभले जोगाए,’ शर्मा भन्छन्।
यतिबेला नेपालको बलिङ राम्रो देखिएको थियो। ब्याटिङ औसत देखिए पनि फिल्डिङ निकै खराब थियो। डेभ क्रोको भनाइ पनि यस्तै थियो। उनले नेपाली टोलीमा स्पिनर नभएको गुनासो गरेका थिए। यो पूरै खेलमा नेपालका लागि दीलिप कपुरले मात्र स्पिन फ्याँकेका थिए।
यद्यपि दुवै खेलमा नेपाल पराजित भयो। तर, यो प्रतियोगिताबाट सदस्य–सचिव शरदचन्द्र शाह भने निकै प्रफुल्लित देखिए।
शरदचन्द्रले लाजिम्पाटस्थित मोलिस रेस्टुरेन्टमा पाहुना टोलीका लागि बिदाइ भोजको आयोजना नै गरेका थिए। यसअघि थाइल्यान्डको रोयल बैंकक क्लब, भारतको कोलकातास्थित वाइएमसिए, विनआर, नयाँ दिल्लीको सेक्रेटिएट टोली नेपालमा क्रिकेट खेल्न आइसकेको थियो। तर, कुनै पनि टोलीका लागि परिषद्ले बिदाइ भोज आयोजना गरेको थिएन। भोजमा डेभले नेपाली क्रिकेटको भविष्यप्रति आफू आशावादी रहेको बताउँदै भनेका थिए, ‘नेपाली क्रिकेटमा मैले थुप्रै युवा प्रतिभा देखेँ।’
उनको यो भ्रमणपछि परिषद्ले क्रिकेटलाई पनि ‘ए’ श्रेणीमा राख्यो। नेपाल क्रिकेट संघको उपाध्यक्ष रहिसकेका श्रीनिवास राणा डेभको भ्रमणपछि नेपाली क्रिकेटमा सम्भावनाको ढोका खुलेको बताउँछन्। भन्छन्, ‘मलाई लाग्छ, डेभको आगमनपछि परिषद्को संघलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आयो।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।