काठमाडौं- प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एउटा कुरामा सहमत थिए, नयाँ सरकारमा अनुभवी र परिणाम दिन सक्ने व्यक्ति पठाउने। सोही अनुसार माओवादी केन्द्रले सुरुवाती चरणमा दुई मन्त्री पठायो।
माओवादी केन्द्रबाट सरकारको नेतृत्व गरे, रामबहादुर थापा बादलले। निकै कसरतपछि बादलले गृहमन्त्रालय हाँक्ने मौका पाए।
दोस्रा थिए, मातृका यादव। उनले उर्जा तथा जलस्रोत मन्त्रालयमा दाबी गरेका थिए। तर, प्रचण्डले उद्योग, वाणिज्य तथा आपूर्ति वा वन मन्त्रालय लिन आग्रह गरे।
मातृकाले वन मन्त्रालयमा काम गरिसकेको बताउँदै उद्योग मन्त्रालय रोजे।
त्यसपछि माओवादीले प्रादेशिक सन्तुलन मिलाउने गरी सरकारमा पठाउने तयारी गर्यो। तर, आकांक्षी धेरै देखिएपछि त्यसलाई व्यवस्थापन गर्न नेतृत्वलाई समस्या पर्यो।
प्रधानमन्त्रीको सुझावमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नयाँ आधार बनाए, पुराना तथा अनुभवीलाई नयाँ सरकारमा पठाउने।
माओवादीले पाएका ७ मध्य ५ मन्त्रालय मात्र बाँकी थिए।
दाहालले सरकारमा पठाउन तयार गरिएको लिस्टमा नाम थिए, वर्षमान पुन, जनार्दन शर्मा, शक्ति बस्नेत, गिरिराजमणी पोखरेल र बिना मगर।
त्यसपछि राष्ट्रिय राजनीति सभामुखदेखि राष्ट्रपति, राष्ट्रियसभाको अध्यक्ष र उपसभामुख निर्वाचनमा व्यस्त भयो। दलहरु त्यसैमा उम्मेदवार तय गर्दै निर्वाचनमा होमिए।
अधिकांस राजकीय पदको निर्वाचन सम्पन्न भएसँगै राष्ट्रिय राजनीतिमा मन्त्रिपरिषद विस्तार चर्चामा छ।
तर, माओवादीले प्रधानमन्त्रीलाई बुझाएको नाममा एक व्यक्तिको नाम काटिएको छ, उनी हुन् पूर्व गृहमन्त्री एवं पूर्व ऊर्जामन्त्री जनार्दन शर्मा।
नयाँ सरकारमा गृहमन्त्रीका रुपमा समेत चर्चामा आएका जनार्दनको नाम अन्तिम समयमा सूचिबाट किन काटियो त?
जनार्दनलाई नयाँ सरकारमा पठाउन माओवादी अध्यक्ष दाहाल तयार थिए। प्रधानमन्त्री ओली समेत उनलाई राम्रै मन्त्रालयसहित पार्टीबाट सिफारिस पठाउन अध्यक्ष प्रचण्डलाई आग्रह गर्दै आएका थिए। तर, अन्तिम समयमा माओवादीबाट सरकारमा जाने नेताको लिस्टमा जनार्दनको नाम परेन।
कारण थियो, नयाँ सरकारमा जनार्दनले दाबी गरेको ऊर्जा मन्त्रालय नपाउनु।
यसअघि ऊर्जा मन्त्रालयमा सफल कार्यकाल बिताएका जनार्दन त्यसअघिको सरकारमा गृहमन्त्री थिए।
नयाँ सरकारमा पुराना अनुहार दोहोर्याउन नहुने आवाज पार्टीभित्र उठे पनि ओली नेतृत्वको सरकारमा जनार्दनलाई मन्त्री बनाएर पठाउन अध्यक्ष दाहाल सकारात्मक नै थिए।
तर, यसपटकको मन्त्रिमण्डलको भागबन्डामा माओवादीलाई राम्रा भिनएका मन्त्रालय खासै परेनन्। राम्रो मानिएका गृह मन्त्रालय बादल र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा मातृका यादवले जिम्मेवारी पाइसकेका थिए।
अब बाँकी थियो उर्जा मन्त्रालय। त्यो मन्त्रालय वर्षमान पुनले पाउने भएपछि जनार्दनले सरकार बाहिरै बस्न उचित ठाने।
पछिल्लो समय पार्टी एकता प्रक्रियामा सक्रिय भूमिका खेलेका जनार्दन अब पार्टी राजनीतिमा सक्रिय हुने उनी निकटस्थ बताउँछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।