कोलकाता– भारतमा सुरु हुन लागेको आइपिएलको ११ औं संस्करण अगाडि वेष्ट इन्डिजका चर्चित अफ स्पिनर सुनील नारिन समस्यामा देखिएका छन्। यतिबेला पाकिस्तानमा पाकिस्तान सुपर लिग (पिएसएल) खेलिरहेका नरेनको बलिङ एक्सनलाई लिएर प्रश्न उठेको छ। उनी लाहोर कलन्दर्सबाट खेलिरहेका छन्।
शारजहामा लाहोर कलन्दर्स र क्वेटा ग्लेडिएटर्सबीच भएको खेलमा नरेनको बलिङ एक्सनविरूद्ध उजुरी परेको छ। उनलाई अहिले वार्निङ सूचीमा राखिएको छ। उनले तत्काल क्रिकेट खेल्न सक्ने छन्। तर, दोस्रो पल्ट पनि उनको बलिङ एक्सनविरूद्ध उजुरी परेको खण्डमा नरेनलाई गाह्रो पर्नेछ।
आइपिएलमा नरेन शाहरुख खानको कोलकाता नाइटराइडर्सबाट खेल्ने गर्छन्। उनी कोलकाताको प्रमुख दुई खेलाडीमा पर्छन्। पाकिस्तानी क्रिकेट बोर्ड (पिसिबी)ले प्रतिक्रिया सार्वजनिक गर्दै भनेको छ, बुधबारको खेलमा उनको एक्सनलाई लिएर उजुरी परेको हो। लोहोर टिम प्लेअफको दौडबाट बाहिरिसकेको छ। आइपिएल ७ अप्रिलदेखि हुँदैछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।